पहिरो र आगलागीले लाखौंको धनमाल नष्ट

काठमाडौं, भदौ १७ : पहिरोमा पुरिएर तथा आगलागीमा परेर विभिन्न स्थानमा लाखौंको धनमाल नष्ट भएको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-१ इन्द्रदहस्थित वासुदेव रिजालसमेतले निर्माण गर्दै गरेको सेकेन्ड होम रिसोर्ट एग्रो प्रालिको भवनमा बुधबार बिहान पहिरो जाँदा भवनमा रहेको फलामका डन्डी, एंगल धाराका फिटिङ, टायलहरु, पाइप, सिमेन्टका बोराहरु विद्युतका सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
त्यस्तै काठमाडौं महानगरपालिका-२२ खिचापोखरीस्थित पपुलर इसीओ ट्रेडिङ पीभीटी कपडा तथा जुत्ता पसलमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा रेडिमेन्ट कपडा तथा जुत्ता जलेर नष्ट भएको छ। धादिङ थाक्रे गाउँपालिका-६ घर भएका ५२ वर्षीय नर बहादुर थापाले संचालन गरेको उक्त पसलमा आगलागी भएको हो। आगलागीबाट भएको क्षतिको यकिन विवरण खुल्न सकेको छैन।
आगलागीकै कारण दोलखाको कालिञ्चोक गाउँपालिका-४ हिलेपानी बस्ने दिल बहादुर बानियाँको घरमा बुधाबर दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा र भाँडावर्तन पूर्णरुपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।












