विकासमा सहकार्य गर्न युएनडिपी इच्छुक
पोखरा, भदौ १६ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) का नायब आवासीय प्रतिनिधि बर्नान्डो कोकोबीच...
पोखरा, भदौ १६ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) का नायब आवासीय प्रतिनिधि बर्नान्डो कोकोबीच आज पोखरामा भेट भएको छ। मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशका साथै मुलुककै विकासको अभिन्न साझेदार युएनडिपीले गण्डकीमा भौतिक उपस्थिति नै जनाएर काम गर्दा अझ सहज हुने बताए।
उनले भने, ‘गण्डकी प्रदेशमा सम्भव भए क्षेत्रिय कार्यालय नभए फिल्ड अफिस स्थापना हुनेछ भन्नेमा म विश्वस्त छु। आवश्यक निर्णयका लागि अनुरोध गर्दछु।’
मुख्यमन्त्री पोखरेलले युनएनडिपीले गण्डकी प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि परियोजनामा सहकार्य गर्ने इच्छा देखाएकामा त्यसलाई छिट्टै पूर्णता दिने विश्वास दिलाए। उनले भने, ‘नवप्रवर्र्तनका क्षेत्र, साना तथा मझौला उद्योगको विकास र कृषिको आधुनिकीकरण गर्न युएनडिपीले सहयोग गरिदियोस् भन्ने हाम्रो चाहना छ।’ मुख्यमन्त्री पोखरेलले उद्यमशीलता प्रवद्र्धन, कृषिको बजारीकरण र डिजिटल प्रविधिको प्रयोगमा युएनडिपीले भविष्यमा महत्वपूर्ण सहयोग गर्नेछ भन्ने विश्वास व्यक्त गरे। युएनडिपीको सहयोगमा वालिङ नगरपालिकामा सञ्चालित उद्यम विकासलगायतका कार्यक्रम प्रभावकारी भएकाले त्यस्ता असल अभ्यासलाई सबै पालिकामा लैजाने सन्दर्भमा प्रदेश सरकार युएनडिपीसँग सहकार्य गर्न इच्छुक रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो।
नायब आवासीय प्रतिनिधि काकोले योजना निर्माण, सुशासन, हरित अर्थतन्त्र, लघुउद्यम प्रर्वद्धनलगायतका कार्यक्रममा युएनडिपी सहकार्य गर्न तयार रहेको बताए। उनले आजै पर्यटन उद्योग तथा आपूर्तिमन्त्री मणिभद्र कँडेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेसँग पनि भेट गरे।












