Kathmandu Press

पूर्वपार्टी सभापति कोइरालाको कारबाही फुकुवाका लागि तरुणदलको ध्यानाकर्षण

पूर्वपार्टी सभापति कोइरालाको कारबाही फुकुवाका लागि तरुणदलको ध्यानाकर्षण

चितवन, भदौ १६ : नेपाली कांग्रेस चितवनका पूर्वपार्टी सभापति विकास कोइरालाको कारबाही फुकुवा गराउन दबाबस्वरूप नेपाल तरुणदल चितवनले ध्यानाकर्षण पत्र बुझाएको छ। तरुणदल चितवनले आज पार्टी जिल्ला सभापतिलाई आज ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै कारबाही फुकुवाका लागि दबाब दिएको हो।

तरुणदल जिल्ला अध्यक्ष राजन ताम्राकारले कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन्। बाहौँ महाधिवेशनअन्तर्गत जिल्ला सभापति पदमा निर्वाचित कोइरालालाई केन्द्रीय नेतृत्वले अपमानजनक र अलोकतान्त्रिक शैलीबाट अपदस्त गर्ने तथा गैरराजनीतिक क्रियाकलापलाई राजनीतिक रङ दिएको भन्दै तरुणदलले ध्यानाकर्षण गराएको हो।

Hardik ivf

विसं २०७० सालको संविधान सभा निर्वाचनमा साविक चितवन क्षेत्र नम्बर ४ मा पार्टी केन्द्रीय सभापति सुशील कोइरालाको उम्मेदवारी रहेको स्थानमा बागी उम्मेदवारी दिएको भन्दै त्यस घटनामा आधारित रही विसं २०७० कात्तिक २ गतेको निर्णयले केन्द्रीय समितिमा अनुशासनको कारबाहीका लागि पत्र पठाइएको थियो। उनीसँगै कारबाहीमा परेका अन्यको फुकुवा भई निर्वाचनमा टिकटसमेत दिईनु तर कोइरालाको फुकुवा नहुनु दुःखद् रहेको तरुणदलले जनाएको छ।

विसं २०७६ चैत १३ गते कांग्रेस चितवनको बैठकको निर्णयले कोइरालाको क्रियाशील सदस्यता नवीकरणका लागि सिफारिस गरेको भए पनि कुनै निर्णय नआउँदा आफूहरू गम्भीर भएको तरुणदलले जनाएको छ। कोइराला विसं २०६७ को १२ औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका थिए। निर्वाचित बनेसँगै विभिन्न कारणले जिल्लाको विशेष अधिवेशनबाट उनलाई सभापतिबाट हटाइएको थियो। ज्ञापनपत्र बुझाउँदै तरुणदलले कोइरालाको कारबाही फुकुवा भएर क्रियाशील सदस्या नआएसम्म जिल्लाको अधिवेशन गर्न नदिइने चेतावनी दिएको छ।

दलको ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला सभापति श्रेष्ठले आफूहरूले केन्द्रमा कारबाही फुकुवाका लागि पत्राचार गरेको बताए। विधानत कारबाही फुकुवा नहुँदा कांग्रेस चितवनसमेत अचम्मित भएको भन्दै उनले यसबारे जिल्ला समितिको बैठकमा छलफल गर्ने र पुनः आग्रह गरेको बताए। समितिको आजको बैठकले पार्टीको वडा अधिवेशन यही भदौ २१ गते गर्ने पनि निर्णय गरेको उनले जानकारी दिए।
 

प्रकाशित मिति: १७:४५ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्