बाढीपहिरोको चपेटामा थाकखोलाको नूनखानी
बलेवा, भदौ १६ : बाढीपहिराका कारण थाकखोलाको नून खानी संकटमा परेको छ। खानी संरक्षणका लागि बनाइएका संरचना बर्सेनि बाढीपहिराको सिकार हुने गरेका कारण मुस्ताङको...
बलेवा, भदौ १६ : बाढीपहिराका कारण थाकखोलाको नून खानी संकटमा परेको छ। खानी संरक्षणका लागि बनाइएका संरचना बर्सेनि बाढीपहिराको सिकार हुने गरेका कारण मुस्ताङको थाकखोलामा रहेको नूनखानी संकटमा परेको हो।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमामा रहेको नूनखानी संरक्षणका लागि गाउँपालिकाले निर्माण गरेका संरचना बर्सेनि बर्खा याममा बग्ने गरेका छन्। नर्सिङ खोलामा आउने बाढी र वर्षापछि आउने पहिराका कारण नूनखानीको संरक्षणका लागि बनाइएका संरचनामा क्षति पुग्ने गरेको गाउँपालिका अध्यक्ष पेन्चोक छेप्तेन गुरुङले बताए। गत वर्ष बनाइएका दुईवटा पोखरी बाढीले बगाएको छ।
नर्सिङ खोला छेवैमा रहेको पहाडबाट रसाउने पानी नुनिलो आउछ। त्यही पानीलाई छानेर पोखरीमा जम्मा गरेर नर्सिङ खोलाको पानी मिसाएपछि केही दिनमा हिँउजस्तै जम्छ। त्यही जमेको ढिक्कालाई थकाली समुदायले नून बनाउने गरेका थिए । गतवर्ष रु १५ लाख खर्चेर बनेका दुई वटा पोखरीमा यस वर्षको बाढीपहिराले क्षति पु¥याएको गुरुङले बताए।
‘हामीले कल्भर्ट, पोखरी निर्माण गरेका थियौं, तर बाढीपहिरोले सधैँ क्षति पु¥याउछ,’ गुरुङ भन्छन्, ‘नुन खानीको संरक्षण चुनौतीपूर्ण बनिरहेको छ।’ गाउँपालिकाले खानीको संरक्षण र प्रयोग गरेर पर्यटन र उत्पादन दुवैको योजना बनाएको थियो। नूनिलो पानी आउने पहाडमा वर्षाको समयमा पहिरो आउने गरेको छ।
छेवैमा रहेको नर्सिङ खोलाको बाढीले खानी छेउका संरचनामा क्षति पु¥याउने गरेको छ। ‘यहाँ खानी हेर्न चाहनेलाई पठाउन मात्रै सकेपनि धेरै फाइदा थियो,’ अध्यक्ष गुरुङ भन्छन्, ‘अफ्ठ्यारो बाटोका कारणले पनि सोचेको जस्तो पर्यटक पठाउन सकिएको छैन् ।’
यहाँको नुन बहुगुणी हुने मान्यता रहेकाले यसको उत्पादनमा गाउँपालिकाले लगानी बढाएको थियो। औषधीय गुण भएको नुन खोज्ने धेरै भए पनि खानीमै रहेको प्राकृतिक समस्याका कारण उत्पादन गर्न नसकेको उनले बताए।
पहाडमा रसाएको पानीमा खोलाको पानी मिसाएपछि मात्रै नुन जम्ने बताउँछन्, लामो समय नूनको उत्पादनमा काम गरेका छुसाङका वयोवृद्ध पेमा तोर्चे। त्यही पानी जमाउनका लागि बनाइएका संरचना भत्किएपछि नुन उत्पादन नहुने उनले बताए।












