Kathmandu Press

नेपालसित मैत्रीपूर्ण फुटबल खेल्न भारतीय टोली काठमाडौँमा

नेपालसित मैत्रीपूर्ण फुटबल खेल्न भारतीय टोली काठमाडौँमा

काठमाडौं, भदौं १४ : नेपालसित मैत्रीपूर्ण फुटबल खेल्नका लागि भारतीय टोली आज काठमाडौँ आइपुगेको छ । भारतीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली नेपालसित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेको हो । नेपालले यही भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भारतसित मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । भारतीय टोलीमा अमरिन्दर सिंह, धीरज सिंह, गुरप्रितसिंह सन्धु, प्रितम कोतल, चिलेसना सिंह, मन्दरराओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभाशिष बोस, सेरिटन फर्नान्डेज, ललेङ माबिआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेक्सन सिंह, प्रोनय हल्दर, मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी रहेका छन् ।

विमानस्थलमा पत्रकारहरुसित सङ्क्षिप्त कुरा गर्दै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाली टोली आफ्नो टोलीका लागि कठिन प्रतिद्वन्द्वी भएको प्रतिक्रिया दिए । उनले नेपाली टोलीलाई कमजोर आँक्न नमिल्ने बताए । लामो समयसम्म अभ्यास गर्न नपाएको उल्लेख गर्दै कप्तान क्षेत्रीले मैत्रीपूर्ण खेल अभ्यास गर्ने र आफ्नो खेलमा सुधार ल्याउने बताए। उनले मैत्रीपूर्ण खेल आयोजना गरेकामा एन्फा र नेपाल सरकारलाई धन्यवाद समेत दिए । नेपाली टोली भने हाल बन्द प्रशिक्षणका लागि कास्कीको पोखरामा रहेको छ ।

नेपाली टोलीमा किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु,  सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, सुरज जीउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पूजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् । नेपाली टोलीमा रोहित चन्द अनुपस्थित रहेका थिए । उनी हाल फुटबल खेल्ने सिलसिलामा इन्डोनेशियामा छन् । नेपाल र भारबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ ।

दुवै देशले चार खेल बराबरी खेलेका थिए । भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ । विश्व फुटबल महासङ्घ (फिफा) को वरियता अनुसार पुरुष फुटबल टोलीतर्फ भारत १०५औँ तथा नेपाल १६८औँ स्थानमा रहेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ ।

नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिईरहेका छन् । साफ च्याम्पियनशिप आगामी असोज असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ । (रासस) 

प्रकाशित मिति: २०:३२ बजे, सोमबार, भदौ १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्