बिनाइजाजत एसिड बेचबिखन गर्ने तीनजना पक्राउ
कास्की, भदौ १४ : पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित ग३च ११४३ नम्बरको जिपमा सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड र सोही महानगरपालिका–२ मौरिया टोलस्थित...
कास्की, भदौ १४ : पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित ग३च ११४३ नम्बरको जिपमा सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड र सोही महानगरपालिका–२ मौरिया टोलस्थित अभिषेक औजार पसलबाट सिलबन्दी र लेबलिङ नलगाई बेच्नको लागि राखेको ३ सय ५० केजी एसिड बरामद गरी उक्त कार्यमा संलग्न ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा जिप चालक चितवन भरतपुर महानगरपालिका–४ बेलचोक बस्ने बारा जितपुर सिमरा उपमहानगरपालिका–१५ स्थायी घर भएका १९ वर्षीय मीनबहादुर भारती, सोही जिपमा सवार चितवन भरतपुर महानगरपालिका–२ बस्ने मोरङ बिराटनगर महानगरपालिका–२ घर भएका २९ वर्षीय केशब सिंह र अभिषेक औजार पसलका संचालक पोखरा महानगरपालिका–२ मोहोरिया टोल बस्ने बाग्लुङ, बाग्लुङ नगरपालिका–७ ढिकीचौर घर भएका ६३ वर्षीय बल बहादुर बिक रहेका छन् ।
कास्कीमा बिना इजाजत एसिडको ओसार पसार तथा बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले निग्रानी तथा अनुगमन गर्ने क्रममा उक्त परिमाणको एसिड बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।












