नेपाल-ओली सधैँ संघर्षपूर्ण सम्बन्ध
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी ओलीबीच अहिले होइन, ०५० सालदेखि नै संघर्ष र कटुतायुक्त सम्बन्ध देखिन्छ। त्यो प्रायः सुषुप्त रह्यो, अहिले आएर सतहमै प्रकट भयो। र, पार्टी विभाजनसम्मको कोर्स लियो।काठमाडौं, भदौ १४ : एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई निर्वाचन आयोगले ९ भदौमा दर्ता प्रमाणपत्र दियो। त्यसको भोलिपल्ट एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीले आधिकारिकता पाएसँगै पहिलो पत्रकार सम्मेलनबाट औपचारिक जानकारी सार्वजनिक गरे। सोही दिन बसेको एमाले स्थायी समिति बैठकले नेपालसहित एकीकृत समाजवादीमा गएका नेताहरूको अभिलेख नै आयोगबाट हटाउने निर्णय गर्यो।
एमाले विभाजनपछि पनि उक्त पार्टीका नेताहरूले एकीकृत समाजवादी अध्यक्ष नेपालमाथि गाली गलौज जारी राखेका छन्। तथापि, नेपाल र एमाले अध्यक्ष केपी ओलीबीचको कटुतापूर्ण सम्बन्ध नियाल्न पछिल्ला घटनाक्रम मात्र काफी छैनन्, इतिहासदेखि नै दुई नेताबीचको सम्बन्ध संघर्षबाटै अगाडि बढेको पाइन्छ।
२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापनायताका ७२ वर्ष नेताहरूबीच यस्तै कटुतापूर्ण सम्बन्ध, टुटफुट र गाली गलौजबाटै गुज्रिँदै आएका छन्। र, पछिल्ला घटनाक्रमलाई इतिहासको त्यही आलोकबाट केलाउनु उपयुक्त हुन्छ।
नेपाल-ओली ‘इन् रिलेसनसिप’
नेपाल र ओलीको सम्बन्धबारे सामाजिक सञ्जाल, सार्वजनिक बहस, राजनीतिक विश्लेषणलगायतमा आ-आफ्नै तर्क पाइन्छन्। एमाले छाडेर एकीकृत समाजवादीमा गएका झापाका पुराना वामपन्थी नेता पुष्प पोखरेका अनुसार नेपाल र ओलीको सम्बन्धको सुरुवात ०४७ सालमा एमाले गठनपछि नै भएको मान्न सकिन्छ।
२०२८ सालमा विराटनगरमा अध्ययनसँगै नेता नेपाल मोरङमा नेपाल बैंक लिमिटेडमा जागिरे थिए। उनी वामपन्थी नेता पुष्पलाल श्रेष्ठले लिएको राजनीतिक लाइनबाट प्रभावित थिए। र, पुष्पलाल नेतृत्वकै पार्टीमा सक्रिय थिए।
सोही क्रममा सीपी मैनाली र मुकुन्द न्यौपानेसँग नेपालको भेट भयो। पछि पुष्पलालको ‘नेपाल कम्युनिस्ट पार्टी’ छाडेर अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी समन्वय समिति (माक्र्सवादी-लेनिनवादी) गठन भयो। अनि त्यसैको विकसित रूप नेकपा (माले) गठन भयो। माधव नेपाल मालेको पोलिटब्युरो सदस्य बने। उनको साथमा मालेको पत्रिका ‘वर्गसंघर्ष’ फेला परेपछि जनकपुरबाट नेपाल पक्राउ परे। उनलाई तत्कालीन पञ्चायती सरकारले राजकाज अपराधमा मुद्दा चलायो र उनी जेल परे। खासमा जनकपुरमा मालेको संगठन हाँकिरहेकी सीता खड्कालाई पक्राउ गर्न प्रहरीले छापा मारेको थियो। पार्टीको सम्पर्क केन्द्रमा खड्कालगायत नेता थिएनन्, प्रहरीले नेपाललाई भने नियन्त्रणमा लियो।
यस्तै, केपी ओलीले सहिद रामनाथ दाहालको घरमा बसेर अध्ययन गरे। ३ जेठ ०२८ मा झापाका कर्णबहादुर गौतमको हत्यापछि ‘वर्गशत्रु’ मास्ने भन्दै हिंसात्मक आन्दोलन सुरु भयो, जसलाई पछि ‘झापा विद्रोह’ नाम दिइयो। ओली सोही विद्रोहमा सहभागी भए। र, ‘वर्गशत्रु’ करार गरिएका धर्मप्रसाद ढकालको हत्यापछि ओली भागेर भारत पुगे।
भारतमा उनको भेट मोहनचन्द्र अधिकारीसँग भयो। र, दुवैजना भारतबाट बाराको कलैया हुँदै नेपाल फर्किए। लगत्तै उनी बाराबाट पक्राउ परे। र, धर्मप्रसाद ढकालको हत्या अभियोगमा उनीविरुद्ध मुद्दा चल्यो। ढकालको हत्या अभियोगमा ओलीलाई कारागार चलान गरियो।
सोही क्रममा जेलमुक्त भएर पार्टी संगठनमा क्रियाशील नेपालको भेट ललितपुर नख्खु कारागारमा रहेका ओलीसँग भयो। ०४६-४७ को आन्दोलनपछि बहुदलीय व्यवस्था पुनःस्थापना भयो। त्यसको केही समयपछि ओली पनि जेलमुक्त भए। नेपाल र ओलीको त्यसपछिको सम्बन्ध दोस्तीमा परिणत भएको पाइन्छ। २२ पुस ०४७ मा एमाले स्थापनापछिका केही वर्ष नेपाल र ओलीको सम्बन्ध दोस्तीबाटै अगाडि बढेको पाइन्छ।
दोस्तीमा दरार
३ जेठ २०५० मा तत्कालीन एमालेका महासचिव मदन भण्डारीको रहस्यमय मृत्यु भयो। त्यसपछि मदनको रिक्तता पूर्ति गर्दै पार्टी महासचिवमा नेपाललाई एमाले महासचिवमा सर्वसम्मत चयन गरियो। खासमा, त्यतिबेलासम्ममा ओलीले आफूलाई मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को उत्तराधिकारीका रूपमा आफूलाई प्रस्तुत गर्न थालिसकेका थिए। तर, उनको इच्छाविपरीत नेपाल पार्टी महासचिव बने।
त्यसपछि नै हो, नेपाल र ओलीको सम्बन्धमा दरार पैदा भएको पनि। सम्बन्धमा उत्पन्न त्यो दरार कहिले सार्वजनिक रूपमा प्रकट भयो त कहिले सुषुप्त रह्यो। मदनको मृत्युपछि एमालेमा गुट-उपगुट झांगियो।
काठमाडौंमा सम्पन्न एमालेको पाँचौँ महाधिवेशनमा सीपी मैनालीले ‘नौलो जनवाद’ कार्यक्रम ल्याए। यस्तै, मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ लिएर आए। मदन भण्डारीको वैचारिक र राजनीतिक कार्यक्रम नै महाधिवेशनबाट पारित भयो। र, एमालेले ‘जनताको बहुदलीय जनवाद’को राजनीतिक कार्यदिशा पक्रियो। नेपाल र ओली दुवै सोही राजनीतिक कार्यदिशाका पक्षमा उभिए। झलनाथ खनाललगायत नेताहरू भने सीपी मैनालीको ‘नौलो जनवाद’का पक्षमा रहे।
तथापि, ‘जनताको बहुदलीय जनवाद’ अँगालेका नेपाल र ओलीबीच टकराव सुरु भयो। पार्टी मदन भण्डारीको एजेन्डाअनुरूप नै अगाडि बढ्दै थियो। तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको निधन भएपछि उनकै सम्मानमा पार्टी अध्यक्षको पद खाली राखियो। र, त्यो सातौँ महाधिवेशनसम्म कायम रह्यो। बुटवलमा सम्पन्न एमालेको आठौँ महाधिवेशनले भने अध्यक्ष पद ब्युँतायो। माधव नेपालको साथ पाएर झलनाथ खनालले केपी ओलीलाई पराजित गर्दै एमाले अध्यक्ष निर्वाचित भए। त्यसो त, सातौँ महाधिवेशनदेखि नै नेपाल र ओलीबीच चर्को ‘टसल’ सुरु भइसकेको थियो।
आठौँ महाधिवेशनमा नेपालले खनाललाई साथ दिएपछि ओली अझ चिढिए। र, काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनमा खनाललाई साथमा लिएर नेपाललाई पराजित गर्दै ओली एमाले अध्यक्ष निर्वाचित भए। नेपाल पक्षले अहिले पनि निरन्तर उठाइरहेको एउटा विषय के हो भने नवौँ महाधिवेशनले जुन पार्टी लाइन पारित गर्यो, अध्यक्ष निर्वाचित ओली त्यसको ठीक विपरीत धारमा थिए। त्यसैले अध्यक्ष निर्वाचित भएर पनि ओलीले नवौँ महाधिवेशनलाई आत्मसात नै नगरेको आरोप नेपाललगायत हाल एकीकृत समाजवादीमा गएका र एमालेमै रहेका नेताहरूले पनि लगाउँदै आएका छन्। यी घटनाक्रम विश्लेषण गर्दा एमालेमा फुटको विजारोपण नवौँ महाधिवेशनलगत्तै सुरु भइसकेको निष्कर्षमा पुगिन्छ।
नेपाल-ओली टसलको ‘क्लाइमेक्स’
बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा झलनाथ खनाल र केपी ओलीले अध्यक्षमा उम्मेदवारी दिए। ओलीलाई अध्यक्ष नबनाउने उद्देश्यका साथ माधव नेपालले झलनाथको पक्ष लिए। परिणमस्वरूप पार्टी अध्यक्षमा झलनाथ निर्वाचित भए। नवौँ महाधिवेशनमा माधव नेपाल र केपी ओली अध्यक्षमा उम्मेदवार बने। सो महाधिवेशनमा झलनाथ स्पष्ट भएनन्। नेपाल र ओली दुवैलाई ठीकजस्तो व्यवहार गरे। झलनाथले केही आफू पक्षका नेता-कार्यकर्तालाई आफूखुशी भोट दिन निर्देशन दिए। अन्ततः ओली अध्यक्ष निर्वाचित भए। झलनाथलाई राष्ट्रपति बनाउने आश्वासन दिँदै ओलीले त्यतिबेला ‘न्युट्रलाइज’ गरेको एमालेका केही नेताले बताउने गरेका छन्। त्यसपछि नै हो, नेपाल र ओलीबीचको टसल उत्कर्ष (क्लाइमेक्स)मा पुगेको पनि।
नेपालको कुरै नसुन्ने केपी
३ जेठ ०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गर्दा एमाले अध्यक्ष ओलीले एकल निर्णय गरे। पार्टीका वरिष्ठ नेता नेपाल र खनाल कसैलाई एकताबारे जानकारी दिन आवश्यक ठानेनन्। नेपाल र खनालले पार्टीभित्र ओलीको एक्लौटी निर्णयविरुद्ध केही बोलेनन्, मौन रहे। ओलीको निर्णयले पार्टीभित्र विवाद ननिम्त्याउने उनीहरूको आशय थियो। तथापि, आन्तरिक कलह सुषुप्त रूपमा अगाडि बढ्यो।
दुई पार्टीबीच एकतापछि गठित नेकपामा नेपाल र खनाल अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिकिए। र, अध्यक्ष ओलीसँग दूरीमा बस्दै आन्तरिक छलफल र निर्णयमा सहभागी हुन थाले।
ओलीले नेपाल र खनाल दुवैका कुरा नसुन्ने, पार्टीभित्रका गतिविधिबारे जानकारी नै नदिने भएपछि नेपालले प्रश्न गर्न थाले। पार्टीका बैठकहरूमा धेरैपटक प्रश्न गरेपछि पार्टी अध्यक्षले जे निर्णय गर्छ, त्यही ठीक हुने जवाफ ओलीले दिन्थे। नेपालले सधैँ नीति, विधि, सिद्धान्त र पद्धतिअनुसार पार्टी चलाउन आग्रह गरिरहे। तर, ओलीले उनको विचार सुन्न आवश्यक ठानेनन्। पार्टी अध्यक्ष भइकन पनि ओलीले नेपालविरुद्ध सार्वजनिक अभिव्यक्ति दिन थाले। नेपालभन्दा आफूलाई अब्बल सावित गराउने प्रयासलाई ओलीले निरन्तरता दिए।
तटस्थता तोडे झलनाथले
एमालेमा नेपाल र ओलीबीचको टकरावले आकार ग्रहण गर्दै गयो। सुरुमा वरिष्ठ नेता खनाल पार्टीभित्र झांगिएको नेपाल-ओली टकरावमा तटस्थ देखिन्थे। तर, ओलीको एकलौटी व्यवहार र दम्भ बढ्दै गएपछि उनी पनि नेपालको पक्षमा उभिए। तत्कालीन एमालेभित्र आफ्नै विरोधीका तर्क र विश्लेषण पनि ध्यान दिएर सुन्ने र समेटिन सक्ने विषयलाई समेटेर अगाडी बढ्ने नेता मानिन्छन् खनाल।
पार्टीको सिद्धान्त, नीतिविपरीत एकपछि अर्को गर्दै ओलीका कदम सतहमा देखिन थालेपछि खुलेरै ओलीको विरोधमा उत्रिए, खनाल। ओलीले १७ असोज ०७४ मा गठबन्धन रचेर चुनाव जित्नेदेखि ‘प्रचण्ड’लाई नेकपाको अर्को अध्यक्ष बनाउँदासम्म चुप रहेका झलनाथ त्यसपछि खुलेरै नेपाललाई साथ दिन थाले। ५ पुस ०७७ मा ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेपछि नेपाल, खनाल र प्रचण्ड एकसाथ सडक आन्दोलनमा उत्रिए। त्यसपछि तत्कालीन नेकपा हुँदै एमाले विभाजनको रेखा कोरियो। अनि त्यही रेखा दरारमा परिणत भएर तत्कालीन नेकपा तीन टुक्रामा विभाजित भयो। अहिले एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) गरी तीनवटा दल तयार भएका छन्, तत्कालीन नेकपा टुक्रिएर।
एकलौटी निर्णय
नेपाललाई एमाले वरिष्ठ नेताको उपाधि दिन पनि ओलीले कन्जुस्याइँ गरे। नेपाल देशबाहिर रहेको बेला खनाललाई वरिष्ठ नेता घोषणा गरेर नेपाल र खनालबीच पनि दूरी बढाउने प्रयास गरे। पछि पार्टीभित्रै त्यसको चर्को विरोध भएपछि नेपाललाई पनि वरिष्ठ नेता बनाउन ओली राजी भए।
नेकपामा पनि नेपाललाई ‘बाइपास’ गरेर ओली अगाडि बढ्न खोजेपछि नेपाल, खनाल र प्रचण्ड एकै ठाउँ आइपुगे। र, तीन कम्युनिस्ट पूर्वप्रधानमन्त्रीहरूको गठबन्धन तयार भयो। यदाकदा ओलीले भँडास पोख्ने गरेका छन्, प्रचण्डले नेपाल र खनाललाई बिगारे भन्दै। अर्थात्, नेकपा विभाजनको यो महाभारतमा मुख्य भिलेनका रूपमा ओलीले प्रचण्डलाई प्रस्तुत गर्ने गरेका छन्। यो सबै शृंखलामा नेपाल र खनाल होइन, उनीहरूलाई उचाल्ने प्रचण्ड दोषी भएको उनको बुझाइ हुन सक्छ।
चतुर ओली
२३ फागुन ०७७ मा सर्वाेच्च अदालतको फैसलाबाट तत्कालीन नेकपाको दर्ता खारेज भएपछि एमाले र माओवादी केन्द्र ब्युँतिए। र, त्यसपछि सुरु भयो, एमालेको आन्तरिक विवाद। पार्टीको पद्धति, सिद्धान्त, प्रतिष्ठाअनुसार कम्युनिस्ट पार्टीमा सामूहिक निणर्यबाट अगाडि जानुपर्छ भन्ने नेपाल र खनालको अडानप्रति ओलीले सधैँ हेय भाव राखेको त्यसयताका उनका एकपक्षीय निर्णयहरूले पुष्टि गर्छन्।
एकीकृत समाजवादीका नेता पुष्प पोखरेल पनि त्यसैमा जोड दिन्छन्। भन्छन्, ‘केपी ओलीको अहम् भावनाले केही बाठा मान्छे, व्यापारी र ‘दुई नम्बरी’लाई साथमा लिएर पार्टी कमजोर पार्ने काम ओलीले गरे।’ उनले पार्टीका काविल कार्यकर्तालाई छाडेर कसले सम्पत्ती जोेडेको छ, को धनाढ्य छ, जो व्यक्ति व्यापारमा छ, त्यस्तालाई हातमा लिएर पार्टीलाइ खोक्रो पारेको पोखरेल आरोप लगाउँछन्।
ओली पक्षमा हेर्ने हो भने चाकडी गर्ने मान्छेलाई ठूलो ठाउँमा नियुक्ति भएको देखिने उनको भनाइ छ। राजदूत नियुक्तिमा पनि बौद्धिक व्यक्तित्वहरूलाई छाडेर चाकडी गर्ने कार्यकर्तालाई नियुक्ति दिइएको उनी बताउँछन्।
‘अरू कुरा छोडौँ, प्रदेश प्रमुखमा कम्तीमा विद्धान, प्राध्यापक, डाक्टर, वकिल पार्टीभित्र आबद्ध हुँदाहुँदै नगरपालिकाको मेयरमा हारेको मान्छे, जो ८ कक्षा पढेको छ, लाई प्रदेश प्रमुख बनाइयो,’ उनी भन्छन्, ‘पार्टीका तल्ला कमिटीको सिफारिस र सर्वसम्मत निर्णय कुल्चिँदै आफूलाई साथ दिने, आफ्ना निकटलाई सांसदको टिकट दिएर सच्चा र असल कार्यकर्तालाई पाखा लगाउने काम केपी ओलीले गरे।’ उनको त्यही प्रवृत्तिले पार्टी विभाजनको अवस्था आएको उनी बताउँछन्।
एमाले बिरासत कसको ?
एमाले स्थापनापछि झापा आन्दोलनको बिरासत केपी ओलीले त्यागेको जानकारहरू बताउँछन्। झापा आन्दोलनअघि केपी ओलीले पार्टीको संगठनको काम गरे पनि झापा आन्दोलनपछि भने एमालेका अन्य नेता-कार्यकर्ताले संगठनलाई विस्तार गरे। झापा आन्दोलनपछि केपी ओली जेल परे। ‘केपी ओलीको सर्टिफिकेट भनेकै जेल परेको हो,’ पोखरेल भन्छन्।
जब कि, पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा जेल नपरेका कमै नेता-कार्यकर्ता थिए। मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सीपी मैनाली, माधवकुमार नेपाल, नरेश खरेल, धनेन्द्र बस्नेत, मनकुमार गौतम, सीता खड्का, गौरा प्रसाईं कोइराला, दुर्गा अधिकारी (सानो), दुर्गा अधिकारी (ठूलो), विष्णु धिमाल, मंगलमणि सतारलगायत धेरै नेता ओलीसँगै जेल परेका थिए। एकजना मदन भण्डारी मात्र हुन सक्छन्, जो पञ्चायती प्रहरीलाई छल्दै जेल पर्नबाट जोगिइरहे। ओलीले भने कारागारमुक्त भएपछि आफू मात्र जेल परेकोजस्तो गरी प्रचार गरिरहे। र, समकालीन नेताहरूबारे खोजीनीति गर्दै नगरेको आरोप उनीमाथि लाग्दै आएकै छ।
‘एमालेमा सुरुदेखि नै निष्ठापूर्वक लागेका नेताहरू अहिले बेहाल अवस्थामा छन्। आफूसँगै १४ वर्ष जेल बसेका नेतालाई पनि ओलीले अहिले चिन्दिनँ भनिदिन्छन्,’ पोखरेल भन्छन्।
झापा आन्दोलनमा १४ वर्ष जेल बसेको इतिहासलाइ अगाडि सार्दै ओलीले एमालेमा पकड जमाएको बुझ्न गाह्रो छैन। स्वर्गीय मनमोहन अधिकारीको मन्त्रिपरिषद्मा गृहमन्त्री र ०६२-६३ को आन्दोलनपछि स्वर्गीय गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा उपप्रधान र परराष्ट्रमन्त्रीको जिम्मेवारीका कारण उनलाई पार्टीमा पकड अझ बलियो बनाउने अवसर मिल्यो।
मदन भण्डारी प्रतिष्ठानका पदाधिकारी नै ओलीका सहयोगी
आफू जनताको बहुदल जनवाद र मदन भण्डारीको उत्तराधिकारी भएको अभिव्यक्ति त उनले दिँदै आएकै छन्। त्यसका लागि मदन भण्डारी प्रतिष्ठानको व्यानर निरन्तर प्रयोग गरिआएका छन्। सोही क्रममा माधव नेपालले सबैलाई समेटेर अगाडि बढ्ने रणनीति लिए। र, पार्टीभित्र ओलीलाई कुनै न कुनै ‘स्पेस’ दिइरहे। ओलीले भने मदन भण्डारीको सेन्टिमेन्ट प्रयोग गरेर आफूलाई स्थापित गराए। त्यही कारण हो, उनले प्रतिष्ठानका शाखा गाउँ तहसम्म स्थापना गर्नुको पनि। पोखरेल भन्छन्, ‘मदन भण्डारीको नाममा प्रतिष्ठान खोल्दा एमालेभित्रका वा बाहिरका कोही कम्युनिस्टले बिरोध गरेनन्। कारण मदन भण्डारीप्रतिको निष्ठा र उनीप्रतिको सहानुभूति थियो।’
प्रतिष्ठानका केन्द्रदेखि गाउँ तहसम्मका संरचनामा ओलीले आफूनिकटस्थलाई समेटे। मदन भण्डारीका नाममा खुलेका नर्सिङ र इन्जिनियरिङ कलेजलगायत असल काम भइरहेकाले एमालेका नेता, कार्यकर्ता कसैले प्रश्न गर्नु आवश्यक ठानेनन्। तर, ओलीले त्यही फाउन्डेसनलाई आधार बनाएर देशभर आफ्नो पकड बढाइरहे।