जुम्लामा स्थानीय तहका प्रशासनिक केन्द्रको भवन निर्माण हुँदै
जुम्ला, भदौ १४ : जुम्लाका स्थानीय तहका प्रशासनिक केन्द्रका भवन निर्माण कार्य तीव्रगतिमा भएका छन्। यहाँका आठ वटै स्थानीय तहले सो कामलाई अगाडि बढाएका...
जुम्ला, भदौ १४ : जुम्लाका स्थानीय तहका प्रशासनिक केन्द्रका भवन निर्माण कार्य तीव्रगतिमा भएका छन्। यहाँका आठ वटै स्थानीय तहले सो कामलाई अगाडि बढाएका छन्।
यहाँको तिला गाउँपालिकाले प्रशासनिक केन्द्रको भवन निर्माण कार्यलाई तीव्र बनाएको छ। आउदो दशैँसम्म आफ्नै भवनमा सर्ने गरी निर्माण कार्यलाई तीव्र बनाएको हो। तिलाको डुण्डेलीमा निर्माणाधीन अवस्थामा रहेको भवनको निर्माण कार्य झण्डै ६० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ । नमूना र भूकम्प प्रतिरोधि भवन निर्माण कार्य जारी रहेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए।
उनले भने, ‘आउँदो दशैँसम्म गाउँपालिकाको आफ्नै भवन निर्माण भई कार्य सञ्चालनमा आउने छ। भवन निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायीलाई दशैँ अगावै भवन निर्माण गरिसक्न जानकारी गराएको छ।’ दशैँपछि गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सक्नेछ। गाउँपालिकाको प्रशासनिक केन्द्र महत्वपूर्ण भएकाले आफ्नै पालामा भवन निर्माण भइसक्ने अध्यक्ष योगीले बताए। सो गाउँपालिकाको भवन निर्माणको जिम्मेवारी पाएको महत बानियाँ जेभीले समयमै भवन निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरिने जनाएको छ।
सो गाउँपालिकाको भवन रु तीन करोडको लागतमा बन्नेछ। डुडेलीमा दुईवटा भवन निर्माणाधीन अवस्थामा रहेको छ । एउटा भवन सटरसहितको र अर्को भवन प्रशासनिक कामकाजमा प्रयोग गरिने तिला गाउँपालिकाले जनाएको छ।
जिल्लाको एक मात्र चन्दननाथ नगरपालिकाले पनि आफ्नो प्रशासनिक केन्द्रको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। स्थानीय सरकारले आफ्नै भवन निर्माण गर्न लागेको हुनाले नागरिकलाई सेवा प्रवाहमा सहज हुने यहाँका स्थानीय तहका प्रमुख बताउछन्।
भाडाको घरबाट सेवा दिन असजिलो भएको भन्दै अब आफ्नै प्रशासनिक केन्द्रको भवन निर्माण पश्चत निकै सजिलो हुने सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताए। यहाँको कनकासुन्दरी र हिमा गाउँपालिकाले अझै प्रशासनिक केन्द्रको टुङ्गो लगाउन सकेका छैन्। सिञ्जा गाउँपालिकाले प्रशासनिक केन्द्रको भवन निर्माण कार्य सुरु गरिसकेको छ।
गुठीचौर, तातोपानी र पातारासी गाउँपालिकाले प्रशासनिक केन्द्रको टुङ्गो लगाए पनि भवन निर्माण कार्य थालेका छैनन्।












