Kathmandu Press

स्वीकृति लिने पञ्चाङ्ग बढ्न थाले

काठमाडौं, भदौ १३ : नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिइ निस्केका पञ्चाङ्ग (पात्रो) ले पछिल्लो समयमा स्वीकृति लिन थालेका छन्।स्वीकृति नलिइ प्रकाशन भएको खप्तड...
स्वीकृति लिने पञ्चाङ्ग बढ्न थाले

काठमाडौं, भदौ १३ : नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिइ निस्केका पञ्चाङ्ग (पात्रो) ले पछिल्लो समयमा स्वीकृति लिन थालेका छन्।

स्वीकृति नलिइ प्रकाशन भएको खप्तड तारानाथ पात्रोले यस वर्ष समितिसित स्वीकृति लिएको छ। आगामी वर्षका लागि मानस खण्ड पात्रोले पनि स्वीकृतिका लागि समितिमा निवेदन दर्ता गरेको सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए।

यस वर्ष समितिबाट १४ पात्रोले स्वीकृति पाएका थिए। आगामी वर्षका लागि १५ वटा पात्रोले स्वीकृति पाउँ भनी गणित गणना गरी समितिमा बुझाएका छन्। समितिसँग स्वीकृति नलिइ ज्वाला, वैदिक र दृग् पञ्चाङ्ग अहिले पनि प्रकाशन भइरहेका छन्।

यसमध्ये वैदिक पञ्चाङ्गको सिद्धान्त फरक छ। पूर्णरूपमा वैदिक भनी पुसतिर यो पात्रो प्रकाशन हुने गर्छ। फरकफरक पात्रो निस्कँदा आम मानिसमा भ्रम उत्पन्न भएको भन्दै सूर्यसिद्धान्तमा आधारित भई गणना गरेर स्वीकृतिका लागि पेश गर्न समितिले आह्वान गर्दै आएको छ ।

आगामी वर्षका लागि पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेबाट समितिले साउन महिनाको एक महिने म्याद राखी निवेदन माग गरेको थियो । समितिमा दर्ता भएका पात्रोको गणित गणनाका विषयमा छलफल गरी तीन महिनाभित्रमा चाडपर्व, तिथिमिति, साइतका विषयमा निर्णय गरिनेछ । निर्णयपछि पात्रोलाई प्रकाशनको अनुमति दिइने समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले गणित गणना गरी पेश गरेका पञ्चाङ्गकारलाई बैठकमा बोलाइ मिलेरनमिलेका विषय जाँच, चाडपर्वको निर्णय गरी पात्रो प्रकाशनका लागि स्वीकृति दिइने बताए। ढिलोमा फागुनसम्ममा पात्रो बजारमा आउने गरी निर्णय गरिने उनको प्रतिबद्धता छ।

प्रकाशित मिति: १५:११ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्