भीमफेदी ट्रक दुर्घटनाका मृतक र घाइतेको पहिचान

हेटौंडा, भदौ ११ : त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी-१ सुपारेटार ब्यारेक नजिक राप्तीखोलामा आज (शुक्रबार) बिहान मालवाहक ट्रक खस्दा मृत्यु भएको एक जना र घाइते दुवैजनाको पहिचान खुलेको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकमा सवार सिन्धुली लाम्पनटार-१ का २८ वर्षीय भोजराज बस्नेत रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।
प्रहरीका अनुसार घाइते हुनेमा ट्रक चालक मोरङ सुन्दरहरैचा-८ का ३१ वर्षीय राजन बाँस्कोटा र सोही ट्रकका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय सरोज आचार्य छन् ।
घाइते भएका बाँस्कोटाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने सहचालक आचार्यलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
फलाम बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८७५९ नम्बरको आइचर ट्रक बिहान आफैँ अनियन्त्रित भई खोलामा खसेको थियो।












