Kathmandu Press

पहिराले घर लगेपछि खुला चौरको बास

पहिराले घर लगेपछि खुला चौरको बास

जाजरकोट, भदौ ११ : गत साउन १६ गते नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिराले बगायो। उनको ६ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेको छ।

त्यसैगरी साउन ३१ गते नलगाड–४ कोठीगाउँका भीमबहादुर डाँगीको एक घर पहिराले पुरिदियो भने अर्को घर जोखिममा परेको छ। पाँच जनाको परिवार त्रिपाल टाँगेर खुलाचौरमा बसिरहेको उनले बताए। अहिलेसम्म कतैबाट राहत नपाएको उनले गुनासो गरे।

पहिराका कारण बाँसकोटीका गोरख कामी, गोरख विक, प्रताप घर्ती, टकबहादुर पुन, ज्ञानबहादुर कामी, पानबहादुर थापालगायत एक दर्जन घर जोखिममा परेका छन्। गाउँ माथिबाट खसेको पहिराले घरमा क्षति मात्र गरेन, पाखो तथा खेतमा लगाएको धान, मकै र फलफूलका बिरुवासमेत नष्ट गरेको छ।

कैना बाँसकोटी, कट्के, किटेनी, कालिमाटी घुवारा, औल सीमा कोठीगाउँ जोड्ने सडक जथाभावी खन्ने काम गर्दा पहिराको जोखिम बढेको छ। विकासले उल्टै विनाश निम्त्याएको छ।

नगरपालिकाले जथाभावी सडक निर्माण गर्दा पहिराको जोखिम बढेको छ। जिल्लामा स्थानीय तहले वातावरणीय प्रभाव मूल्याङ्कन तथा अध्ययनबिना नै जथाभावी डोजर लगाएर सडक निर्माण गर्दा सबैतिर बाढी पहिराको जोखिम बढेको छ।

जिल्लाका खलङ्गा पाँचकाटिया, कालिमाटी बारेकोट, छेडा थलह, थलह सानाखोला जुनीचाँदे, थलह बाटुल्ले टापुचौर, पाँचकाटिया पैक, पाँचकाटिया कुशे भार्मा, कालिमाटी कैना, कालिमाटी खन्टाकुरा सिर्केलगायत दर्जन बढी ग्रामीण सडकमा असार पहिलो सातादेखि यातायात सेवा अवरुद्ध छ। (रासस)

प्रकाशित मिति: ०८:३२ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्