विभिन्न ठाउँबाट लागूऔषधसहित पाँच पक्राउ
काठमाडौं, भदौ १० : प्रहरीले देशको विभिन्न ठाउँबाट अवैध लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट सर्लाहीका नजाम अन्सारीलाई प्रहरीले...
काठमाडौं, भदौ १० : प्रहरीले देशको विभिन्न ठाउँबाट अवैध लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट सर्लाहीका नजाम अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले बिहीबार बिहान उनको साथबाट ६० ट्याब्लेट नाईट्राभेट र १ बोतल कोडिवेल बरामद गरेको छ।
सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ४८०० नम्बरको बस जाँच गर्नेक्रममा बसमा सवार नजामलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।
त्यस्तै, नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका बर्दघाटबाट करिब १० केजी अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थसहित राजेश यादव पक्राउ परेका छन्। भारत उत्तर प्रदेश भगतपुरवाका ३७ वर्षीय यादवलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो।
प्रहरी चौकी पाचपेडाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनको झोलाभित्र पत्रिका र टेपले बेरेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
त्यस्तै, बर्दिया, गुलरिया नगरपालिका ११ लालपुर चौराहबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ। नियन्त्रित लागूऔषध ५४ ट्याब्लेट नाईट्राभेटसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा गेरुवा गाउँपालिकाका २३ वर्षीय अमित बिक र २३ वर्षीय राजेश थारु रहेका छन्। प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा अमितलाई ३९ र राजेशलाई १५ ट्याब्लेटसहित पक्राउ गरेको हो।
त्यस्तै, सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ११ सुब्बाकुनाबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लागूऔषध ७८ ट्याब्लेट नाईट्राभेटसहित २४ वर्षीय छबिलाल गिरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ ह ५१२४ नम्बरको अटोलाई प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा अटोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।












