सडक निर्माणमा रकम हिनामिना गर्ने पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं, भदौ १० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको सहिद लालध्वज मार्ग उपभोक्ता समितिका तत्कालीन अध्यक्ष डिल्लीराम अधिकारीसमेत पाँच जनामाथि गैरकानुनी लाभ तथा हानिनोक्सानी...
काठमाडौं, भदौ १० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको सहिद लालध्वज मार्ग उपभोक्ता समितिका तत्कालीन अध्यक्ष डिल्लीराम अधिकारीसमेत पाँच जनामाथि गैरकानुनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अन्य आरोपितमा कोषाध्यक्ष ममिता गुरुङ, भीमबहादुर गुरुङ, गणेश कुमार गुरुङ र विनोद श्रेष्ठ छन्।
तनहुँको कोत्रे र थप्रेक जोड्ने सडकमा कटिङ र ग्राभेल गर्ने गरी शुक्लागण्डकी नगरपालिकाबाट विनियोजन भएको रकम अन्तर्राष्ट्रिय प्राविमाथिको स्थानीय स्रोत उत्खनन गरी पैसा नलाग्ने माटो लगी ग्राभेल गरेको तर बिल भरपाई फर्जी बनाई उपभोक्ता समितिले भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान थालेको थियो।
शुक्लागण्डकीबाट आव २०७४/७५ मा नगरस्तरीय आयोजनाअन्तर्गत विनियोजन भएको रकम लागत इस्टिमेट स्वीकृत भई उपभोक्ता समितिमार्फत सम्पन्न भएको कोत्रे-थप्रेक सहिद लालध्वज मार्ग स्तरोन्नति योजनामा ग्राभेल गर्दा उपभोक्ता समितिका पदाधिकारीहरुको मिलेमतोमा आफूहरुलाई गैरकानुनी लाभ पुर्याउने र सरकारी रकम हानिनोक्सानी पुर्याउने बदनियतले ७ लाख ६६ हजार ७ सय रुपैयाँ बराबर फर्जी बिल फर्जी बनाई भुक्तानी लिने कार्य गरी भ्रष्टाचारजन्य कसुुर गरेको तथ्य प्रमाणित हुन आएको अख्तियारले बताएको छ।
आरोपितहरुलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा १ बमोजिम बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए।
त्यसैगरी सोही उपभोक्ता समितिका तत्कालीन सदस्य गणेश कुमार गुरुङलाई पनि १ लाख १९ हजार ४ सय रपैयाँ र चार्टर कन्स्ट्रक्सन प्रालिका तत्कालीन प्रोप्राइटर विनोद श्रेष्ठलाई २ लाख ४८ हजार ४ सय रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरिएको पनि अख्तियारले जनाएको छ।












