Kathmandu Press

मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन

काठमाडौं, भदौ १० : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चाडपर्वका बेला अत्याधिक उपभोग हुने दैनिक उपभोग्य सामग्रीको अस्वभाविक मूल्यवृद्धि, कालोबजारी तथा जनस्वास्थ्यलाई खेलवाड...
मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन
फाइल तस्बिर

काठमाडौं, भदौ १० : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चाडपर्वका बेला अत्याधिक उपभोग हुने दैनिक उपभोग्य सामग्रीको अस्वभाविक मूल्यवृद्धि, कालोबजारी तथा जनस्वास्थ्यलाई खेलवाड गर्ने र गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गर्नेविरुद्ध कडा कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ।

गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितमा आज बसेको समितिको बैठकले म्याद सकिएका अखाद्य वस्तु, पुनःमिति राखी बिक्री वितरण गर्नेलगायत गैर कानुनीकार्य नियन्त्रणका लागि अन्य सरकारी निकायको समन्वयमा बजार अनुगमन गर्न पनि आग्रह गरेको छ। यस्ता कार्यमा दोषी देखिएकालाई कारवाहीको दायरामा ल्याउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ।

Hardik ivf

समितिका सभापति शशी श्रेष्ठले आवश्यक परे कानुन संशोधन गरेरै भए पनि कारवाहीको दायरामा ल्याउन भनेको जानकारी दिए। 

बैठकले दार्चुला ब्यास गाउँपालिका–२ का तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको घटना प्रकरणमा समितिको गम्भीर ध्यानाकर्षण भएको र सत्यतथ्यसहितको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न पनि निर्देशन दिएको छ। समितिले पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि आग्रह गरेको छ। 

त्यस क्षेत्रको स्थानीय बासिन्दाको सुरक्षाका साथै पुल, मोटरबाटोलगायत आवश्यक पूर्वाधारको यथाशीघ्र निर्माण गर्न पनि निर्देशन दिएको सभापति श्रेष्ठले जानकारी दिए। समितिले दार्चुलादेखि तिङकरसम्मको सडक तत्काल निर्माण गर्न, तुइन विस्थापित गरी झोलुङ्गे तथा पक्की पुलको व्यवस्था गरी त्यहाँका बासिन्दालाई खाद्यान्न र औषधिको आवश्यक व्यवस्था गरी जनजीवन सामान्य बनाउन पनि सरकारलाई अनुरोध गरेको छ। 

यस्तै कञ्चनपुरकी निर्मला पन्तको विसं २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा पनि सत्यतथ्य बाहिर नआउनु दुखद भएको उल्लेख गर्दै समितिले सत्यतथ्यका आधारमा घटनामा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ।

बालिका तथा महिलामाथि हत्या, हिंसा र बलात्कारजस्ता घटना नियन्त्रण र अपराधीलाई समयमा कारवाही गर्न नसक्दा मानवताविरुद्धका घटना बढ्दै गएको सन्दर्भ जोड्दै समितिले त्यस्ता घटनाको नियन्त्रण र संलग्नलाई हदैसम्मको कारवाही गर्न आवश्यक व्यवस्था मिलाउन पनि गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
 

प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्