दुई पत्रकारको ज्यान लिने धम्कीप्रति प्रेस युनियनको आपत्ति
काठमाडौं, भदाै १० : पत्रकारद्वय बिष्णुप्रसाद न्यौपाने र नगेन्द्र उपाध्यायलाई ज्यान मार्ने धम्की दिएकोप्रति नेपाल प्रेस युनियनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले...
काठमाडौं, भदाै १० : पत्रकारद्वय बिष्णुप्रसाद न्यौपाने र नगेन्द्र उपाध्यायलाई ज्यान मार्ने धम्की दिएकोप्रति नेपाल प्रेस युनियनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीले बिहीबार एक विज्ञप्ति जारी गरेर राज्यका जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार प्रवृत्ति उजागर भएपछि कानुन हातमा लिएर जंगलराज बनाउने खोज्ने हर्कत भन्दै युनियनले ज्यान मार्ने धम्कीप्रति निन्दा गरेका छन्।
पत्रकार न्यौपाने नेपाल प्रेस युनियन कालिकोटका अध्यक्षका साथै अन्नपूर्ण पोस्टका संवाददाता हुन्। त्यस्तै पत्रकार उपाध्याय नागरिक दैनिकका कर्णाली प्रदेश प्रमुख हुन्।
कर्णाली प्रदेशका कृषिमन्त्री कुर्मराज शाहीमाथि बलात्कारको आरोप लागेको समाचार उनीहरूले लेखेका थिए। सोही समाचार प्रकाशित भएपछि उनीहरुमाथि ज्यान मार्ने धम्की दिइएको बताइएको छ।
‘नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष तथा अन्नपूूर्णकर्मी विष्णु साद न्यौपानेले मिति २०७८ भदौ ६ गते अन्नपुर्ण पोष्ट अनलाइनमा लेखेको कर्णाली प्रदेशका कृषिमन्त्री शाहीलाई बलात्कार आरोप र नागरिक दैनिकका कर्णाली प्रदेश प्रमुख नगेन्द्र उपाध्यायले मिति २०७८ साल भदौ ७ गते नागरिक दैनिकमा मन्त्रीमाथि बलात्कार आरोप भन्ने समाचार प्रकाशित भएपछि मन्त्री कुर्मराज शाहीका स्वकीय प्रेम बुढाले फोनमा, प्रेस सल्लाहकार नन्दकेस अधिकारी, युवा संघ कर्णाली संयोजक केशन शाही, खाडाचक्र २ का वडा अध्यक्ष बिर्खसिह विकसहितले सामाजिक संजालमा पत्रकारद्वयलाई ज्यान मार्ने धम्की दिएकाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ,’ युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
समाचार आएपछि सुर्खेत वीरेन्द्रनगर-३ स्थित पत्रकार न्यौपानेको घर घेरेर मन्त्रीका आफन्त र समर्थकले ढुंगामुढा गर्ने, सांघातिक आक्रमण गर्न प्रयास गर्ने, टाउको झोलामा जीउ खोलामा भन्दै सार्वजनिक रुपमा हत्या गर्ने धम्की दिनेलगायत प्रवृत्ति दोहोरिरहँदा पत्रकारद्वय न्यौपाने र उपाध्याय भूमिगत हुने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ।
युनियनले पत्रकारद्वयको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ। मन्त्री शाही र उनका कार्यकर्ताको धम्कीका कारण लुकेर हिँड्न बाध्य पत्रकारद्वयलाई कहीँकतै सानो चोट मात्र लागे पनि यसको सम्पूर्ण दोष स्वयं मन्त्रीको हुने विज्ञप्तिमा बताइएको छ।
पत्रकारद्वयलाई सुरक्षाको पूर्ण प्रत्याभूूति दिलाउँदै पूर्ववत् रुपमा पत्रकारीता गर्ने वातावरण मिलाइदिन युनियनले स्थानिय प्रशासनसँग माग गरेको छ।












