छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु
काठमाडौं, भदौ १० : दैलेख, कास्की र झापामा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ पाल्तडा बजारस्थित सडकमा भे१ख ३४३८...
काठमाडौं, भदौ १० : दैलेख, कास्की र झापामा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ पाल्तडा बजारस्थित सडकमा भे१ख ३४३८ नम्बरको मिनीट्रकको ठक्करबाट पैदलयात्री दैलेख आठबिस नगरपालिका-२ बस्ने कवि खनालको छोरा आठ वर्षीय यगेन्द्र खनालको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका-१४ खाल्टे मसिनास्थित सडकमा ग२ख २२४ नम्बरको टिपरको ढालामा च्यापिएर सामान लोड÷अनलोड काम गर्ने सोही महानगरपालिका-१५ बस्ने सिन्धुली दुधौली नगरपालिका-५ घर भएका २८ वर्षीय अजय रोक्काको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
ढालाले च्यापिएर गम्भीर घाइते भएका उनको पश्चिमाञ्चल सामुदायिक अस्पताल पृथ्वीचोकमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापाको भद्रपुर नगरपालिका-९ लक्ष्मी चोकमा बा२७प ६४२२ नम्बरको मोटरसाइकललको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २३ वर्षीया दिक्षा प्रसाई चम्लागाईको बुधबार राति मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको ओम साई पाथिभरा अस्पताल भद्रपुरमा सामान्य उपचार पश्चात थप उपचारका लागि लाइफलाइन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्हरीको भनाइ छ।












