हात्तीलाई जङ्गल बाहिर आउन नदिन विद्युतीय तारबार
झापा, भदौ १० : जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार...
झापा, भदौ १० : जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ।
भारतबाट सीमा पार गरेर आउने र स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीबाट जिल्लाका पन्ध्रवटै पालिकाका बासिन्दा पीडित हुँदै आएका छन्। क्षति न्यूनीकरणका लागि विगत एक दशकदेखि विद्युतीय तारबार गर्न थालिएको छ। मानव र हात्तीबीच वर्षौंदेखि चल्दै आएको द्वन्द्व न्यूनीकरणमा करिडरले सघाउने अपेक्षा गरिएको छ।
यस वर्ष मेचीनगरको चारआली वनदेखि उत्तर मागुरमाडी वनसम्म ५८ किलोमिटर लामो विद्युतीय तारबारको योजना सुरु गरिने वन डिभिजन कार्यालयका प्रमुख युवराज मास्केले बताए। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम सुरु भइसकेको र सरकारले विद्युतीय तारबारका लागि चालु बजेटमा तीन करोड विनियोजन गरेको उनले जानकारी दिए।
उक्त बजेटबाट जिल्लाको उत्तरी क्षेत्र बाहुनडाँगीदेखि दक्षिणको जलथल जङ्गलसम्म विद्युतीय तारबार गर्ने र जङ्गलभित्र हात्तीको आहारका लागि केरा, बाँसलगायतका बोटविरुवा रोप्ने योजना छ। कचनकबलको जलथलदेखि मेचीनगरको बाहुनडाँगीसम्म १५२ किलोमिटर लामो विद्युतीय तारबार परियोजना एक दशकअघि नै सुरु भएको हो।
अहिलेसम्म जलथलदेखि रङ्गेडाँडासम्म ३७ किलोमिटर, देउनियाँबाट पुहाँतुबारीसम्म ६ किलोमिटर र बाहुनडाँगीदेखि नकलबन्दासम्म १८ किलोमिटर विद्युतीय तारबार योजना सम्पन्न भइसकेको छ।
यस वर्ष चारआली वन खण्डदेखि मागुरमाडीसम्मको ६ किलोमिटर र मागुरमाडी वनखण्डको ५२ किलोमिटरमा तारबार निर्माण सुरु गरिने भएको हो। क्रमागत बजेटअनुसार वन मन्त्रालयले नयाँ तारबारका लागि तीन करोड विनियोजन गरेको र राष्ट्रिय प्रकृति संरक्षण कोषले कामको थालनी गर्ने बताइएको छ। (रासस)












