५१ हजार २ सय ७६ जनालाई निःशुल्क मास्क

काठमाडौं, भदौ ९ : कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ५१ हजार २ सय ७६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।
कार्यक्रमअन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख २२ हजार १ सय १३ जनालाई निःशुल्क मास्क वितरण गरिसकिएको छ।
नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खोई?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ५ जनालाई १० हजार ६ सय रुपैयाँ जरिवाना गरिएको छ।
सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ हजार ७ सय २२ जनालाई रोकी सम्झाईबुझाई छाडिएको छ। साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको १ सय १ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत १६ हजार ३ सय ६५ जनालाई सचेत गराइएको छ।












