भरतपुर विमानस्थलको रन–वे आसपास झाडी बढ्दा जोखिम

चितवन, भदौ ९ : भरतपुर विमानस्थलको धावनमार्ग आसपास क्षेत्रको झाडी सफा नहुँदा जोखिम बढेको छ।
झाडीमा स्याल, दुम्सीलगायतका जनावरको बासस्थान बन्दै गएको छ। जहाज अवतरण र उडानका लागि गुडेका बेला ती जनावर धावनमार्गमा आएमा दुर्घटना हुनसक्ने उच्च जोखिम देखिएको छ।
विमानस्थल प्रशासनले बजेटको अभाव भन्दै बेवास्ता गरेका कारण जुनसुकै समयमा जोखिम हुनसक्ने चिन्ता सरोकारवालाको छ। विमानस्थलको टावरबाट धावनमार्ग राम्रोसँग हेरेर मात्र जहाज अवतरण र उडान गर्ने गरिन्छ।
धावनमार्ग छेवैसम्म झाडी बढेकाले टावरबाट सफा देखिए पनि तत्काल जनावर आउन सक्ने जोखिम उच्च छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्मा बेलाबेलामा सरसफाइ गर्ने गरेको भए पनि अहिले केही बढेको स्वीकार गर्छन्।
बजेटलगायतका कारण काम रोकिएको उहाँको भनाइ छ । झाडी सफा गर्ने ट्र्याक्टरले काम गर्न नसकेकाले पनि झाडी बढेको उनको तर्क छ। धावनमार्गमा स्याल र चरा आउँदा विमानस्थलको दमकलले साइरन बजाएर लखेट्ने गरिएको छ। झाडीसँगै पानी तर्काउन बनाइएको नालीमा स्याल लुक्ने गर्दछन्।
उनले भने, ‘हामीलाई स्यालले निकै दुःख दिने गरेको छ।’ यससँगै विमानस्थलभित्रको सरसफाइमा समेत कमी रहेको गुनासो आउने गरेको छ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले झाडी फाँड्न र कार्यालय सरसफाइमा बजेटको अभाव नहुने बताए। विमानस्थलको धावनमार्ग आसपासको क्षेत्र सरसफाइ हुनुपर्नेमा उनको जोड छ। उनले भने, ‘सरसफाइ हुनुपर्छ। के रहेछ म बुझ्छु ।’
स्थानीय सञ्चारमाध्यममा धावनमार्गमा बच्चा खेल्दै गरेको एक तस्बिरसमेत प्रकाशित भएको छ। दुई वर्षअघि राजमार्गमा ट्र्याक्टरले बोकेको भैँसी हामफालेर धावनमार्ग पुगेपछि सुरक्षा व्यवस्था कडा परिएको थियो। विमानस्थलको सुरक्षा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षकको नेतृत्वमा हुने गरेको छ।
विमानस्थलमा अहिले दैनिक १० उडान हुने गरेका छन्। बुद्धएयरले काठमाडौं, पोखरा र भैरहवा उडान भर्दै आएको छ। विमानस्थलमा केही दिनअघि विशिष्ट कक्षमा आगलागीसमेत भएर क्षति भएको छ।












