Kathmandu Press

अब एमाले महाधिवेशनमा केन्द्रित हुनेछ : अध्यक्ष ओली

काठमाडौं, भदौ ९ : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्दै...
अब एमाले महाधिवेशनमा केन्द्रित हुनेछ : अध्यक्ष ओली

काठमाडौं, भदौ ९ : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने जनाएका छन्।

मङ्गलबार सम्पन्न स्थायी कमिटीको बैठकका निर्णय र समसामयिक राजनीतिबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले  सङ्गठनात्मक क्षेत्रमा अबको ध्यान असोज पहिलो हप्ताको विधान महाधिवेशन र मङ्सिर दोस्रो साता आयोजना हुने राष्ट्रिय महाधिवेशनमा केन्द्रित रहने बताएका छन् । 

एमालेबाट अलग भएका माधवकुमार नेपालसहितका नेताहरु नेकपा ९एकीकृत समाजवादी० दर्ताका लागि सनाखतमा जुटिरहेका बेला अध्यक्ष ओलीद्वारा ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा एकताका लागि स्थायी कमिटीको बैठकबाट पारित प्रस्ताव प्रस्तुत गरिएको थियो। 

Hardik ivf

उनले लामो समयदेखि  जारी समस्यालाई समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन यसबीचमा अनेकौँ प्रयास भएको तथा एकतालाई कायम राख्न र थप सुदृढ बनाउन तथा पार्टीलाई विभाजित हुन नदिन सकारात्मक योगदान गर्ने कार्यदलका सदस्य एवं अन्य सबै नेतालाई धन्यवाद दिँदै पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सङ्गठनात्मक रुपमा चुस्त, भावनात्मक रुपमा एकताबद्ध तथा साझा लक्ष्यप्रति सङ्कल्पबद्ध बनाइने बताए। 

अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकताको पक्षमा दृढतापूर्वक उभिनुभएको छ। उहाँहरुको यस निर्णयलाई हार्दिक स्वागत गर्दै दशबुँदेमा समेत एकताको पक्षमा उभिनुभएका नेताहरुलाई म स्वागत गर्दछु । बलियो, एकताबद्ध तथा सुदृढ एमाले पार्टी पङ्क्तिको मात्र होइन, राजनीतिक स्थायित्व, लोकतन्त्र र अग्रगमनका पक्षधर आम जनताको समेत चाहना हो । लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका पार्टीहरु विभाजित हुँदा कसरी यसको मूल्य सिङ्गो प्रणाली र राष्ट्रले नै चुकाउनुपर्छ भन्ने निकट अतीतका अनुभवहरु हामी सबैका स्मरणमा ताजै छन् ।’ 

उनले आजको एमाले नेकपाकै निरन्तरताका रुपमा रहेको, यसले नेकपाको विरासत आत्मसात् गरेको र पार्टी निर्माण, विस्तार र एकीकरण पार्टीको विशेषता र संस्कृति रहेको कुरालाई आत्मसात् गर्दै रचनात्मक दृष्टिकोण अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । एमाले राष्ट्रिय राजनीतिको मूल प्रवाह भएकाले यसलाई विभाजन गरेर बृहत् कम्युनिष्ट एकता गर्ने कुरा गरिनु सुहाउँदो नहुने टिप्पणी अध्यक्ष ओलीको थियो। 

एमालेबाट अलग्गिएर छुट्टै दल दर्ताको प्रक्रियामा रहेका नेता÷कार्यकर्तालाई असफलता अवश्यम्भावी रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले हानिकारक बाटो छाडेर पार्टीको मूलघरमा फर्किन स्थायी कमिटीले औपचारिक आह्वान गरेकाले पार्टीम फर्किएमा विगतका कुनै क्रियाकलाप या गतिविधिलाई लिएर कुनै पूर्वाग्रह नराखिने या कुनै विभेद या कारबाही नहुने दोहोर्याएका छन्।

उनले संसद्को अधिवेशन चलिरहेको र सभामुखले आगामी बैठकका कार्यभारबारे सदनलाई जानकारी गराइसकेको पृष्ठभूमिमा अकस्मात अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश जारी भएको भन्दै असन्तुष्टि व्यक्त गरे। 

उनले अनुशासनहीनता र पार्टी विभाजनका गतिविधिमा सङ्लग्न भएको स्पष्ट आधारसहित पार्टीले गरेको कारबाहीको सूचना कानुनबमोजिम संसद् सचिवालयलाई जानकारी गराइएकामा सभामुखबाट नौ दिनसम्म पनि सूचना जारी नभएकोप्रति पनि असन्तुष्टि व्यक्त गरे। एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफूले अनुकूल समयमा पार्टीको नेतृत्व हस्तान्तरण गर्ने जानकारी दिए। 

सो पार्टीका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिमै कार्यदलले १० बुँदे प्रस्ताव तयार गरेकाले पार्टीलाई विभाजन गर्नुपर्ने कुनै आवश्यकता नभएको स्पष्ट पारेका थिए। पत्रकार सम्मेलनमा उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामबहदुर थापालगायत नेता सहभागी थिए।
 

प्रकाशित मिति: १६:०५ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्