Kathmandu Press

गुल्मीमा २२ करोड बेरुजु

गुल्मी, भदौ ९ : गुल्मीका स्थानीय तहमा २२ करोड बेरुजु देखिएको छ। दुई नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका रहेको जिल्लामा आर्थिक वर्ष...
गुल्मीमा २२ करोड बेरुजु

गुल्मी, भदौ ९ : गुल्मीका स्थानीय तहमा २२ करोड बेरुजु देखिएको छ। दुई नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका रहेको जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा कूल २१ करोड ८२ लाख ५८ हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। 

आव ०७५/७६ मा भन्दा ०७६/७७ मा जिल्लाका पालिकाहरुमा रु एक करोड ६८ लाख ५५ हजार कम बेरुजु आएको छ। आव ०७६/७७ मा जिल्ल्लाका १२ पालिकामा २३ करोड ५१ लाख १३ हजार बेरुजु आएको थियो। आव ०७४/७५ मा भने जिल्लामा कूल रु १२ करोड ७५ लाख १४ हजार बेरुजु देखिएको थियो।

सत्यवती र मुसिकोटमा धेरै, मदानेमा कम

Hardik ivf

जिल्लाका सबै स्थानीय तहहरुमध्ये सत्यवती गाउँपालिकामा बढी बेरुजु देखिएको छ।  एक अर्ब ३४ करोड ४५ लाख १६ हजारको लेखापरीक्षण गर्दा चार करोड २४ लाख ७८ हजार बेरुजु देखिएको छ। सत्यवतीमा ०७५/७६ मा दुई करोड ६८ लाख ४८ बजार बेरुजु देखिएको थियो। ०७५/७६ मा भन्दा ०७६÷७७ मा सत्यवतीमा एक करोड ५६ लाख ३० हजारभन्दा बढी बेरुजु देखिएको छ। जुन आर्थिक पारदर्शिताको दृष्टिकोणले राम्रो मानिँदैन।

सत्यवतीपछि मुसिकोट नगरपालिकामा बढी बेरुजु आएको छ। एक अर्ब ३६ करोड नौ लाख ५८ हजारको लेखापरीक्षण गराएको मुसिकोटमा तीन करोड ११ लाख ६६ हजार बेरुजु देखिएको छ। नगरपालिकामा आव ०७५/७६ मा चार करोड ५४ लाख ८८ हजार बेरुजु आएको थियो। ०७५/७६ मा भन्दा ०७६/७७ मा नगरपालिकाले एक करोड ४३ लाख २२ हजार बेरुजु घटाएको छ। ९९ करोड ५१ लाख ४९ हजारको लेखापरीक्षण गराएको कालीगण्डकी गाउँपालिकामा दुई करोड ५५ लाख ५९ हजार बेरुजु देखिएको छ। 

कालीगण्डकीमा आव ०७५/७६ मा दुई करोड ५२ लाख १२ हजार बेरुजु देखिएको थियो। ०७५/७६ मा भन्दा ०७६÷७७ मा कालीगण्डकीमा ४३ लाखभन्दा बढी बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

९९ करोड ५४ लाख ३८ हजारको लेखापरीक्षण गराएको मालिका गाउँपालिकामा दुई करोड ४९ लाख ७२ हजार बेरुजु देखिएको छ। जुन आव ०७५/७६ मा भन्दा एक करोड ७३ लाख ५० हजारले बढी हो। मालिकामा आव ०७५/७६ मा ७६ लाख २२ हजार बेरुजु आएको थियो । त्यस्तै आव ०७४/७५ मा गाउँपालिकामा कूल तीन करोड ९९ लाख १९ हजार बेरुजु देखिएको थियो। 

चन्द्रकोट गाउँपालिकाले आव ०७५/७६ मा भन्दा ०७६/७७ मा एक करोड ९४ लाख ९० हजारले बेरुजु घटाएको छ। जुन प्रशासनिक क्षेत्रमा भएको सुधार हो। आव ०७६/७७ मा दुई करोड २० लाख बेरुजु देखिएको छ। जबकि ०७५/७६ मा गाउँपालिकामा चार करोड १४ लाख ९० हजार बेरुजु देखिएको थियो। चन्द्रकोटमै आव ०७४÷७५ मा भने ३५ लाख ९२ हजार बेरुजु देखिएको थियो। 

छत्रकोट गाउँपालिकाले बेरुजु रकम उल्लेख्य मात्रामा घटाएको छ। कूल ९७ करोड १४ लाख ८२ हजारको लेखापरीक्षण गराएको छत्रकोटमा ९४ लाख ११ हजार बेरुजु देखिएको थियो। गाउँपालिकाले आव ०७५/७६ मा ७८ करोड ९७ लाख ६९ हजारको लेखापरीक्षण गर्दा दुई करोड ९३ लाख २३ हजार बेरुजु देखिएको थियो। आव ०७५/७६ मा भन्दा ०७६/७७ मा छत्रकोटमा एक करोड ९९ लाख १२ हजारले बेरुजु रकम घटेको छ।

कूल ८५ करोड २२ लाख १४ हजारको लेखापरीक्षण गराएको गुल्मीदरबार गाउँपालिकामा एक करोड ६४ लाख ६७ हजार बेरुजु देखिएको छ। आव ०७५/७६ मा ७० करोड ४३ लाखको परीक्षण गराउँदा गाउँपालिकामा एक करोड ७७ लाख ५३ हजार बेरुजु देखिएको थियो। आव ०७४/७५ मा तीन लाख ३९ हजार मात्रै बेरुजु देखिएको गुल्मीदरबारमा ०७५/७६ मा एक करोड ७४ लाख १४ हजार बेरुजु रकम बढी देखिएको थियो। 

एक अर्ब १४ लाख २६ हजार ५१ हजारको लेखापरीक्षण गराएको रेसुङ्गा नगरपालिकामा एक करोड ६० लाख ७६ हजार बेरुजु देखिएको छ। आव ०७५/७६ मा एक अर्ब नौ करोड १६ लाख ६६ हजारको परीक्षण गराउँदा नगरपालिकामा एक करोड २३ लाख छ हजार बेरुजु देखिएको देखिएको थियो। आव ०७५/७६ मा भन्दा ०७६/७७ मा नगरपालिकामा ३७ लाख ७० हजारभन्दा बढी बेरुजु देखिएको छ। आव ०७४/७५ मा एक करोड ७२ लाख २३ हजार बेरुजु देखिएको थियो। 

धुर्कोट गाउँपालिकामा एक करोड २३ लाख ७४ हजार बेरुजु देखिएको छ। गाउँपालिकाले एक अर्ब पाँच करोड १५ लाख ६७ हजारको परीक्षण गराएको थियो। ०७५/७६ मा भन्दा ०७६/७७ मा गाउँपालिकामा २२ लाख ५३ हजार रकम बढी बेरुजु देखिएको छ। आव ०७४/७५ मा भने धुर्कोटमा कूल एक करोड १६ लाख ४४ हजार बेरुजु आएको थियो। ८७ करोड ८५ लाख ९४ हजारको परीक्षण गराएको इस्मा गाउँपालिकामा एक करोड सात लाख ७५ हजार बेरुजु देखिएको छ। जुन आव ०७५÷७६ भन्दा १४ लाख ६४ हजारले बढी हो। इस्मा गाउँपालिकामा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ। गाउँपालिकामा ०७४/७५ मा ७८ लाख ५५ हजार तथा ०७५/७६ मा ९३ लाख ११ हजार बेरुजु देखिएको थियो।

रुरुक्षेत्र गाउँपालिकामा ४४ लाख ३४ हजार बेरुजु आएको छ। गाउँपालिकाले ०७६/७७ का लागि ९९ करोड ४५ लाख ३९ हजारको लेखापरीक्षण गराएको थियो। गाउँपालिकाले बर्सेनि बेरुजु रकमलाई घटाएको छ। आव ०७४/७५ मा ७९ लाख १८ हजार तथा ०७५/७६ मा रुरुक्षेत्रमा ७१ लाख २३ हजार बेरुजु आएको थियो। जिल्लामा सबैभन्दा कम मदाने गाउँपालिकामा बेरुजु देखिएको छ। कूल ८९ करोड ७७ लाख १५ हजारको लेखापरीक्षण गराएको मदानेमा २५ लाख ४६ हजार बेरुजु आएको छ। आव ०७५/७६ मा गाउँपालिकामा २५ लाख १६ हजार तथा ०७४/७५ मा ४८ लाख ४६ हजार बेरुजु आएको महालेखाले जनाएको छ। 

सबैभन्दा बढी बेरुजु आएको सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले प्रक्रियागत कमजोरीका कारण बेरुजु आएको प्रतिक्रिया दिए। महालेखा परीक्षकको कार्यालयले आधिकारिक रिपोर्ट नपठाएका कारण आफूले अध्ययन गर्न नपाएको उनले बताए। 

अधिकांश कामहरु उपभोक्ता समितिमार्फत गर्दा भ्याट लगायतका विषयवस्तु नमिल्दा बेरुजु आएको हुनसक्ने उनले बताए। सबैभन्दा कम बेरुजु आएको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेल प्रदेश र सङ्घीय सरकारको कानुनबमोजिम काम गरेकाले कम बेरुजु आएको बताए। सबै ठेक्का विद्युतीय माध्यमबाट खोलेको, खरिद प्रक्रिया पारदर्शी बनाएको जस्ता कारणले बेरुजु घटेको उनले बताए।

प्रकाशित मिति: १५:५२ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्