कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको रिले अनसन
कांग्रेसका केही जिल्ला सभापतिहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गरेका छन् ।काठमाडौं, भदौ ९ : कांग्रेसका केही जिल्ला सभापतिहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गरेका छन् ।
उनीहरूले २४ घण्टे रिले अनसन सुरु गरेका हुन् । अनसनको पहिलो दिन नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, काभ्रेका सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमला रिले अनसनमा बसेका छन् । प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्नेलगायत माग उनीहरूको छ ।
आफूहरूले आज बिहान ११ बजेदेखि अनसन सुरु गरेको नुवाकोट सभापति केसीले काठमाडौं प्रेसलाई बताए ।
क्रियाशील सदस्यता तहगत निर्णय गरिएको सूचीका त्रुटि र कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्डबमोजिम सत्यतथ्य छानविन गरेर मात्र अन्तिम रूप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायत माग उनीहरूको छ ।
जिल्ला सभापतिका मागमा कांग्रेस नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतले ऐक्यबद्धता जनाएका छन् ।
क्रियाशील सदस्यताका सन्दर्भमा देखिएको विवाद समाधान गर्न गठित तीन सदस्यीय कार्यदलले विवाद समाधानको खाकासहित सोमबार सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएसँगै विवाद टुंगिएको बताइएको छ । तर, जिल्ला सभापतिहरूको रिले अनसनका कारण महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुनेमा अन्योल उत्पन्न हुने जोखिम देखिएको छ । कांग्रेसको १४ औँ महाधिवेशन मंसिर दोस्रो साता गर्ने कार्यतालिका सार्वजनिक भइसकेको छ । तर, अझै क्रियाशील सदस्यताबारे विवाद कायम देखिएको छ ।