Kathmandu Press

पाँचथरमा ११ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न

पाँचथर, भदौ ९ : गत आर्थिक वर्षमा पाँचथरमा ११ वटा झोलुङ्गे पुल निर्माण भएको छ।  पूर्वाधार विकास कार्यालय पाँचथरले आर्थिक वर्ष २०७७÷७८ मा ११...
पाँचथरमा ११ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न

पाँचथर, भदौ ९ : गत आर्थिक वर्षमा पाँचथरमा ११ वटा झोलुङ्गे पुल निर्माण भएको छ।  

पूर्वाधार विकास कार्यालय पाँचथरले आर्थिक वर्ष २०७७÷७८ मा ११ वटा झोलुङ्गे पुल निर्माण गरेको हो। तीमध्ये दुईवटा पुलले पाँचथर र ताप्लेजुङ जिल्लालाई जोडेका छन्। बाँकी नौमध्ये पाँचथरमा छ तथा ताप्लेजुङमा तीन पुलको निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ। 

Hardik ivf

दुई जिल्ला जोड्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ सिलसिले र पाँचथरको याङवरक गाउँपालिका–२ ओखल्लीवारी जोड्ने ८३ मिटरको इवाखोला र त्यही वडा जोड्ने ११९ मिटरको अर्को इवाखोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो। कार्यालयका अनुसार ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा १२० मिटरको तमोर नदीमा झोलुङ्गे पुल फूलबारी आमबोटे, मैवाखोला गाउँपालिका–६ थुकिम्बा र मेरिङदेन गाउँपालिका–१ पाङ्लाबुङ जोड्ने ११५ मिटरको मैवाखोला झोलुङ्गे पुल र फक्ताङलुङ गाउँपालिकाको वडा नं ५ र ६ लाई जोड्ने १२० मिटरको पुल निर्माण सम्पन्न भएको छ। 

यसैगरी पाँचथरतर्फ फिदिम नगरपालिका–११ र १३ लाई जोड्ने ७३ मिटरको पञ्चमी झोलुङ्गे पुल, फिदिमकै वडा नं ८ र १३ लाई जोड्ने ९६ मिटरको बोझेगरा–टिम्मुरे झोलुङ्गे पुल, फिदिमकै वडा नं १४ मा १२० मिटरको बाँस्बोटे शीतलपाटी झोलुङ्गे पुल, फालेलुङ गाउँपालिका–३ मा ८१ मिटरको खेवा थानखोला पोक्नवा झोलुङ्गे पुल र मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा ९३ मिटरको सेङ्गेवा खोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन्।

यी ११ वटै पुल निर्माणका लागि रु तीन करोड ८९ लाख १७ हजार बजेट विनियोजन भएकामा रु तीन करोड ७३ लाख ४५ हजार रकम खर्च भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ। कार्यालयका अनुसार झोलुङ्गे पुल निर्माणमा शतप्रतिशत भौतिक प्रगति भएको छ भने ९५.९६ प्रतिशत वित्तीय प्रगति भएको छ। 

मानिसको नियमित आवतजावत हुने क्षेत्रका खोला तथा खोल्सीमा झोलुङ्गे पुल नहुँदा विशेषतः बर्खायाममा सर्वसाधारणले समस्या झेल्ने गरेका थिए। पाँचथरमा एक समय सिरिजङ्घा ग्रामीण विकास केन्द्रले तत्कालीन जिल्ला विकास समितिको कार्यालयसहितका निकायको सहयोगमा झोलुङ्गे पुल निर्माणको अगुवाइ गरी सयौँ स्थानमा झोलुङ्गे पुल निर्माण गरेको थियो।
 

प्रकाशित मिति: १२:०८ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्