Kathmandu Press

शवदाह गृह निर्माणमा ढिलाइ

शवदाह गृह निर्माणमा ढिलाइ

चितवन, भदौ ९ : पवित्र तीर्थस्थल देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले ठेक्का लगाएको शवदाहगृहको म्याद गुज्रिनै लाग्दासमेत कामले गति लिनसकेको छैन।

पशुपतिनाथपछि सबैभन्दा धेरै अन्तिम दाहसंस्कार गर्ने ठाउँ देवघाट हो। दाउराबाट जलाएर दाहासंस्कार गर्न कठिन हुन थालेपछि भरतपुर महानगरपालिका र देवघाट क्षेत्र विकास समितिको समेत पहलमा विद्युतीय शवदाहगृह निर्माणको प्रक्रिया अघि बढेको थियो। सङ्घीय सरकारको बजेटबाट थालिएको शवदाहगृह निर्माणका लागि मूल्य अभिवृद्धि करबाहेक रु नौ करोड ९२ लाखमा निर्माण गर्ने गरी ठेक्का लगाइएको हो।

Hardik ivf

विसं २०७५ माघ ३ गते सम्झौता हुँदा दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ। कोभिड–१९ को कारण देखाउँदै पुनः छ महिना म्याद थपियो र २०७८ साउनमा काम सम्पन्न हुनुपर्ने थियो। थपिएको म्यादसमेत सकिँदा बल्ल काम थालिएको छ। निर्माण कछुवाको गतिमा रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताए।

निर्माण ढिलाइ हुँदा अहिले दाउराको प्रयोगबाट शव जलाउने गरिँदै आएको छ। ‘कोभिडको समयमा एक दिनमा ३३ शवसमेत दाहसंस्कारका लागि ल्याइएको थियो, तर ठाउँ साँघुरो र वर्षाको समय हुँदा लाइनमा बस्नुपर्ने बाध्यता भयो,’ उनले भने। 

कोभिड–१९ सङ्क्रमितको शव व्यवस्थापनका लागि छुट्टै ठाउँ तोक्दा पनि नियमित शव जलाउने ठाउँमा भीड हुने गरेको उनको भनाइ छ। समितिले निर्माण छिटो गर्न ताकेता गरिरहेको घिमिरेले बताए। विद्युतीय शवदाहगृह निर्माण भए दाउरा पाउन कठिन भइरहेको परिस्थिति अन्त्यसँगै सहजै दाहसंस्कार गर्न टेवा पुग्ने उनको भनाइ छ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख प्रकाश अर्यालले निर्माणमा ढिलाइ भएको स्वीकार्दै चाँडै निर्माण सक्न ठेकेदार कम्पनीलाई मौखिक, लिखित साथै राष्ट्रिय पत्रपत्रिकामार्फत ध्यानाकर्षण गराइरहेको बताए। निर्माण हुने जमिन नारायणी नदी नजिकै रहेकाले ठूलो बाढीका कारण निर्माणमा समस्या भएको उनको भनाइ छ। निर्माणपछि शवदाह गर्ने मेसिनमा समस्या नहोस् भनेर डिजाइनसमेत परिवर्तन गर्नुपर्दा ढिलो भएकाले अब सरासर काम भए एक वर्षभित्र निर्माण सक्ने उनले बताए।

छ सय वर्गमिटरमा बन्ने उक्त शवदाहगृहमा दुई मेसिन जडान गरिने र एकैपटक दुई शवदाह गर्न सकिने सुविधा हुनेछ। साथै सागर जानेहरुलाई बस्ने ठाउँ, खानेपानी, शौचालयलगायतका सुविधासहितको भवन बन्ने अर्यालले बताए।

पिलरको मात्रै काम गरेको निर्माण कम्पनी मिलिनियम–सिद्धगढी जेभी काठमाडौँले दुई किस्ता गरेर एक करोड ६ लाख ३९ हजार लगिसकेको छ। यता महानगरपालिकाले ठेकेदार कम्पनी र सघन सहरी विकासका कर्मचारीलाई राखेर पटक–पटक काम समयमा सम्पन्न गर्न दबाब दिँदै आएको छ। नगर प्रमुख रेनु दाहालले महानगरभित्रका आयोजनामा कुनै कठिनाइ भएमा सहयोग गर्न महानगर तयार रहेकाले ठेकेदार कम्पनीले समयमा नै काम सम्पन्न गर्नुपर्ने बताए। रासस

प्रकाशित मिति: ११:१६ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्