Kathmandu Press

एशियन युथ बक्सिङमा नेपाललाई तीन कास्य

काठमाडौं, भदौ ९ : नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ।...
एशियन युथ बक्सिङमा नेपाललाई तीन कास्य

काठमाडौं, भदौ ९ : नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ। कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहेका छन्।

छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गरेका हुन्। उनी सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित भए। यसअघि उनले कुवेतका मोहम्मद अलिनेजीलाई हराउँदै कास्य पदक पक्का गरेका हुन्। जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ५–० अङ्कले पराजित गरेका थिए। 

नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टका अनुसार जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवा र महिला ५७ किलोमा नारिका राईले पनि कास्य पदक प्राप्त गरे। प्रतियोगितामा नेपालबाट शेर्पा, तिरुवा र राईसँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गरेका थिए।  

गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो। टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन्। टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहेका छन्। प्रतियोगिता आगामी असोज १५ गतेसम्म सञ्चालन हुनेछ। 
 

प्रकाशित मिति: १०:४६ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्