Kathmandu Press

घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा  दायर

घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा  दायर


काठमाडौं, भदौ ८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला वन कार्यालय बाराका अधिकृत भैरवप्रसाद घिमिरेसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

आयोगले आव २०७३/७४ मा बाँसको कलमी बिरुवा उत्पादन वा खरिदप्रक्रियामा अनियमितता भएको पाइएकाले मुद्दा दायर गरेको हो। जिल्ला वन कार्यालय बारामा अम्रिसो बिरुवा उत्पादन वा खरिद तथा वितरणको लागि र बाँसको कलमी बिरुवा उत्पादन सम्बन्धमा छानबिन गर्दा महँगोमा खरिद गरी रकम हिनामिना गरेको पाइएको छ। आयोगले तत्कालीन जिल्ला वन अधिकृत घिमिरेविरुद्ध चार लाख ९० हजार रूपैयाँ, तत्कालीन सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध चार लाख ९० हजार रुपैयाँ र सहायक वन अधिकृत दिनेशप्रसाद जयसवालविरुद्ध तीन लाख ९० हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

यस्तै, आयोगले सामाजिक विकास मन्त्रालय बागमती प्रदेशअन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन एकाइ, गजुरी धादिङमा कार्यरुत सवइञ्जिनियर विनोद सापकोटाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। खेलकुद मैदान निर्माण सम्पन्न गरी सो कार्यको धरौटी राखेको रकम फिर्ता लिन जाँदा सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले पक्राउ गरेको थियो। 

आयोगले आरोपी सापकोटाविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

प्रकाशित मिति: २०:५२ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्