कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना
काठमाडौं, भदौ ८ : कांग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्नेलगायत माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।पार्टी विधानअनुसार...काठमाडौं, भदौ ८ : कांग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्नेलगायत माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।
पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रूप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायत माग उनीहरूले गरेका छन् ।
धर्नामा कांग्रेस नेताहरू अर्जुननरसिंह केसी, डा। शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगन थापालगायतले ऐक्यबद्धता जनाएका छन् ।
यसअघि ५ भदौमा जिल्ला सभापतिहरूको तर्फबाट काभ्रेका सभापति मधु आचार्यले पार्टी सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आफ्नो मागबारे जानकारी दिएका थिए ।
सोमबार राति कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुंग्याइ अन्तिम रूप दिइसकेको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी काम सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइसकिएको छ ।
सभापति देउवाले क्रियाशील सदस्यतामा हस्ताक्षर गरेलगत्तै उक्त प्रतिवेदन सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ । सो नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण भएपछि समितिले १८ भदौमा हुने पार्टीको गाउँ–नगर वडा अधिवेशनका लागि १० भदौसम्म सबै जिल्लामा पु¥याइसक्ने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गाउँ–नगर वडा अधिवेशन १८ भदौका लागि तय भएको छ । यस्तै, गाउँ–नगरपालिका अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुँदैछन् ।
कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १०–१२ कात्तिक र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरका लागि तय गरेको छ ।












