मानवप्रेमी दानव अर्थात् लाखे : नकारात्मकता हटाउने राक्षसी देवता
मानव जातिलाई प्रेम गर्ने लाखेले आफ्नो बस्तीबाहिरका भूतप्रेत, पिचास र विपद्बाट बचाउने जनविश्वास छ। त्यसैले होला, कुनै ठूलो मुद्दा मामिला आइलाग्दा पनि लाखेको पूूजा गर्ने चलन नेवार समुदायमा छ।काठमाडौं, भदौ ७ : स्थान : खोकना। समय : मध्याह्न १२ बजे। मिति : ६ भदौ ०७८। भदौरे झरी छल्दै दिउँसोको प्रचण्ड गर्मीले सेकिरहेको थियो, खोकनालाई। स्थानीय बसस्टपबाट केही पर पहिलो ‘लाःछी’ (नेवार बस्तीका टोल–टोलको बीचमा हुने ठूलो आँगन) मा मुकुुण्डो, जामा र अष्टकोण अंकित भोटो पहिरिएका एकजना बयस्क र एक बालक नाच देखाइरहेका थिए।
नाच देखाइरहेका बयस्क थिए ‘लाखे’ र बालक थिए ‘झ्यालिचाः’। झ्यालिचाःले लाखेलाई जिस्क्याउँछ अनि लाखे उसलाई लखेट्छ। उनीहरू स्थानीय बासिन्दाको घर–घरमा पुगी नाच देखाउँछन्। स्थानीयवासीले आफ्नो गच्छेले भ्याएसम्म भेटी चढाउँछन् र लाखेबाट आशिर्वाद थाप्छन्।
०००
२ भदौ साँझपख गोंगबु गणेशस्थान मन्दिर परिसरमा पनि लाखे नाच प्रदर्शन भइरहेको थियो। माइक्रो बसमा यात्रारत एक व्यक्तिले जिज्ञासा राखे- ‘केको नाच हो यो ?’ सँगै यात्रारत व्यक्तिले जवाफ दिए, ‘लाखे नाच’।
त्यस्तै प्रश्न ३ भदौमा अनामनगरमा पनि केही पैदल यात्रुले गरिरहेका थिए। खोकनामा देखिएको जस्तै लाखे नाच हाल काठमाडौं उपत्यकाका ठाउँ-ठाउँमा चलिरहेको छ। नेवार समुदायको बसोबास रहेका देशका विभिन्न ठाउँमा गाईजात्रादेखि यसरी नै लाखे नाच देखाउने चलन छ।
लाखे नाचलाई नेवार समुदायको पहिचान मानिन्छ। काठमाडौं उपत्यकामा भने ‘गथाँमुुगः’ अर्थात् जनबोलीमा ‘गाँठे मंगल’ पछि सुरु हुन्छ। उपत्यकामा प्रायः साँझपख लाखे नाच देखाउने चलन छ।
को हुन् लाखे ?
भयंकर जिउडाल र दाह्रा निस्किएको डरलाग्दो अनुुहार अनि ठूलो जटाधारी राक्षसजस्तो लाखेलाई तलेजु भवानीको अंगरक्षक मानिन्छ। अदृश्य शक्तिको रूपमा मानिने लाखेले मानवलाई भूतप्रेत, पिचास र रोगव्याधीबाट बचाउने जनविश्वास रहिआएको छ।
धिमे बाजापछि नेवार समुदायको अर्को पहिचान हो, लाखे नाच। गथाँमुुगः पर्वको सुरुवातसँगै नेवार बस्तीमा लाखे नाच सुरु हुन्छ।
असन, ठेचो, खोकना, गोकर्ण, किलागल, पाटनलगायत नेवारहरूको बसोबास रहेका काठमाडौं उपत्यकाका टोल–टोलमा लाखे नाच देखाइन्छ। यस्तै, ‘नेपाल मण्डल’ को रूपमा परिचित बनेपा, काभ्रे, धुलिखेलमा पनि लाखे नाचिन्छ। अनि, बागलुुङ, इटहरी, इलाम, मकवानपुरजस्ता उपत्यकाबाहिरका नेवार बस्तीमा पनि लाखे नाचको परम्पराले निरन्तर छ।
संस्कृतिविद् ओम धौभडेलका अनुसार ‘लाखः’बाट अपभ्रंश भई ‘लाखे’ शब्द जन्मेको हो। नेपाल भाषामा ‘ला’ को अर्थ ‘मासुु’ हो भने ‘लाखः’ को अर्थ ‘मासुको थुुप्रो’ हो।
अनुुहारमा मासुका डल्लाडल्ली निस्किएको लाखःबाट लाखे भनिएको धौभडेल बताउँछन्। लाखेको जीउडालभन्दा पनि मासुको थुप्रोले बनेको उसको अनुहारले मानिसको ध्यान तान्छ।
लाखे नाच विशेषतः गथाँमुुगःपछि नै सुरु हुन्छ। गाईजात्रापछि, ‘येँया पुन्ही’ अर्थात् ‘इन्द्र जात्रा’मा लाखे नाचले अझ विशेष महत्त्व राख्छ। दशैँ सुरु भएपछि लाखे नाच विसर्जन गर्ने चलन उपत्यकामा छ। दशैँको आगमनसँगै भगवतीहरूको उत्पत्ति, उपासना र अन्य नाच सुरु हुन्छन्। उपत्यकाबाहिर भने अधिकांश स्थानमा कृष्ण जन्माष्टमीको दिन लाखे नाच बिसर्जन गर्ने चलन छ।
भक्तपुरमा नवदुुर्गा नाच, पाटनमा नवदुुर्गा अष्टमात्रिका, काठमाडौंमा पचली भैरवलगायत जात्रा हुने गर्छन्। कीर्तिपुरमा बाघभैरव, बोडेमा नीलबाराही देवी–देवताको नाच सुरु भएसँगै लाखे नाच, मुकुन्डो र कपडाको बिसर्जन हुने संस्कृतिविद् धौभडेल बताउँछन्।
दफा र गुठीअनुसार लाखे नाच हुने गर्छ। जस्तो– मानन्धर, प्रजापति, किसान र श्रेष्ठ समुदायमा अलग–अलग शैलीका लाखे नाच हुन्छन्। गुठी र दफामा इच्छुकहरूले नाच सिक्न सक्छन्।
किंवदन्ती– भैरवको अवतारदेखि तलेजुको रक्षकसम्म
आकाश भैरवको अवतारका रूपमा पुजिन्छ, ‘लाखे’लाई। यससम्बन्धी विभिन्न किंवदन्ती र तर्क छन्। लोककथाको पुस्तक ‘द फ्रेन्ड्ली जाइन्ट एन्ड अदर टेल्स, फोक टेल्स् फ्रम नेपाल’ मा कथाकार केशरलाल श्रेष्ठ लेख्छन्, ‘नेपाल उपत्यकाका प्रथम राजा गुणकाम देवको पालामा लामो समय खडेरी पर्यो। राजाले वरिष्ठ तथा ज्ञानी ‘आचाजु’ (नेवार समुदायका पूजारी)हरूको सभा गरी उक्त समस्या हल गर्न आग्रह गरे। एक वरिष्ठ आचाजुले तलेजु भवानीलाई उपत्यकामा स्थापना गरेमा खडेरीको समस्याबाट मुक्ति पाउन सकिने समाधान बताए।’
तथापि, तलेजु भवानीलाई उपत्यकामा भित्र्याउन सहज थिएन। ती आचाजुले नै तलेजु भवानीलाई अनुनयविनय गरी उपत्यकामा भित्र्याए। यद्यपि, तलेजु भवानीसँगै अदृश्य रूपमा कोही उनीसँगै आएको तथा घण्ट बजेको आवाज सुन्न थाले। त्रसित भएका स्थानीयवासी र आचाजुलाई भवानीले उनको रक्षक ‘लाखे’ भएको बताइन्।
अदृश्य लाखेलाई सदृश्य देख्दा सबै त्रसित भई नगरमा राख्न नमिल्ने भनी भवानीलाई बिन्ती गरे। भवानीले लाखेलाई फर्किन आदेश गर्दा रक्षकको कर्तव्यका कारण उनलाई छोडेर जान नसक्ने बरु स्थानीय बासिन्दामा त्रास भए नगरबाहिर नै बसी भवानीको रक्षा गर्ने वाचा गरे।
उपत्यका खडेरीमुक्त भएपछि तलेजु भवानीले आफ्नो बासस्थान फर्किने क्रममा लाखेलाई भने नगरको सुरक्षाका निमित्त छाडिन्। सोही समयदेखि नेवार बस्ती बाहिर बसी लाखेले समुदायको रक्षा गर्ने जनविश्वास रहिआएको छ।
यस्तै, अर्को किंवदन्तीका अनुसार एक रञ्जितकार परिवारमा बाबु–छोरी मात्र थिए। वरपरका सबैले ‘सिनाः ज्या’ अर्थात् धान रोप्ने क्रममा रोपाइँ सकाउन थालेका थिए। उनीहरूलाई भने खेतको काम सक्न गाह्रो भयो। एक रात मानव रूप धारणा गरी लाखेले आवश्यक परे आफूले काममा सहयोग गरिदिने बतायो। उक्त लाखेले रातमै गई ती रञ्जिकार परिवारको काम सकिदियो। त्यो देखेर अन्य किसानले पनि सोही लाखेबाट काम गराउन थाले।
अर्कोतर्फ लाखेको प्रेम ती रञ्जितकारकी छोरीसँग बस्न गयो। लाखेलाई पुनः बस्तीमा नआउन किसानले भने पनि लाखेले नमानेपछि अन्ततः ऊसँगै छोरीको विवाह गरिदिए। तर, मानव रूपमा रहेको लाखेले समय–समयमा आफ्नो दानव स्वभावको वशमा परेर बालबालिकालाई खान थाल्यो।
विस्तारै, बस्तीमा मानिसले बच्चा हराउनुको कारण मानवरूपी लाखे भएको पत्ता लगाए। र, लाखेलाई समुदायबाट निस्किन आदेश दिए। यद्यपि, लाखेले अब उप्रान्त बच्चा नखाने वाचा ग¥यो। र, सजायस्वरूप लाखे नाच देखाउन थालिएको विश्वास पनि पाइन्छ।
नाचमा ‘झ्यालिचाः’को रूपमा बच्चाले लाखेलाई जिस्क्याउने तथा लाखेले उसलाई लखेट्दै नाच देखाउने प्रचलन सुरु भएको संस्कृतिविद् धौभडेल बताउँछन्। उनका अनुसार उक्त लाखे हाल ‘मजिपात लाखे’को रूपमा प्रसिद्ध छ।
वसन्तपुर मजिपात टोलका रञ्जितकारहरूले हालसम्म पनि ‘मजिपात आजु’को रूपमा लाखे नाचको परम्परा धान्दै आएका छन्। राजीव पारस रञ्जितकार अहिले ‘मजिपात लाखे आजु’ छन्।
मजिपातको लाखेलाई सबैभन्दा शक्तिशाली लाखे मानिन्छ। यस्तै, ‘मजिपात लाखे’पछि पाटनका ‘यल ल्याकु मिप्वाः लाखे’ अर्को महत्त्वपूर्ण लाखे मानिन्छ। काठमाडौंका ‘मजिपात लाखे’को नाच भने इन्द्र जात्राको बेला देख्न पाइन्छ। पाटनमा भने करिब पाँच दिनको लाखे नाच हुन्छ। त्यसबाहेक सेतो, रातो, कालो गरी विभिन्न स्वरूप तथा शक्तिका लाखे हुन्छन्।
पहिले पुरुष मात्र लाखेको रूपमा नाच्ने गरे पनि हाल महिला पनि नाच्न थालेका छन्। महिला लाखेलाई भने ‘लसिं’ भनिन्छ।
विपद्को सारथि
नेवार समुदायमा गथाँमुुगः सुरु भएसँगै भूतप्रेत र पिचास सक्रिय हुने जनविश्वास छ। मानवप्रेमी दानवको रूपमा परिचित लाखेले भूतप्रेत र पिचासहरूबाट मानिसलाई संरक्षण गर्ने जनविश्वास नेवार समुदायमा छ।
लाखेले आफ्नो बस्तीबाहिरका भूतप्रेत, पिचास र विपद्बाट बचाउने जनविश्वास छ। त्यसैले होला, कुनै ठूलो मुद्दा मामिला आइलाग्दा पनि लाखेको पूजा गर्ने चलन नेवार समुदायमा छ। लाखे पूजा गर्दा मुद्दा मामिला जितिने जनविश्वास रहिआएको छ।
सोही कारण पनि गथाँमुगः पश्चात करिब दशैँसम्म नेवार बस्तीहरूमा लाखे नाच देखाइने संस्कृतिविद् ओम धौभडेल बताउँछन्।
भिन्न विधि विधान
नेवार समुदायमा दफा गुठीअनुसारका लाखे हुन्छन्। दफा गुठीले इच्छुक व्यक्तिलाई नाच सिकाउने गर्छन्। लाखे नाच्नेले नाट्येश्वरलाई मान्छन्। त्यसपछि आफ्नो गुरुको आराधना गर्छन्। विभिन्न बान्की तथा विधिअनुसारका लाखे नाच हुन्छन्।
अन्य देवी देवताको नाचमा जस्तो लाखे नाचमा भने भोकै बस्नुपर्ने नियम नभएको धौभडेल बताउँछन्। नियम तथा विधानमा केही कडाइ मजिपात आजु लाखेमा भने लागू हुन्छ। यस्तै, नाच देखाउँदा खाली खुट्टै नाच्नुपर्ने नियम भने सबै लाखेमा अनिवार्य छ।
लाखेको मुकुण्डोमै कपडा जोडिएको हुन्छ भने मुकुण्डो अड्याउन फेटाको प्रयोग हुन्छ। जामा र अष्टकोषको संकेत भएको भोटो, हात खुुट्टामा घंघलासिः अर्थात् बाला र शरीरमा घण्ट भने अनिवार्य गरगहना हुन्।
किन लाखे नाच साँझमा मात्र ?
एक समय थियो, दिनभर खेती किसानी र व्यवसायमा व्यस्त रहने नेवार समुदायले साँझमा फुर्सद पाउँथे। र, सबै टोलमा आएपछि लाखे नाच्दै दिनभरको थकानबाट त्राण लिन्थे। त्यसको अर्को कारण पनि थियो– बिहान र दिउँसोको तुलनामा साँझमा शीतलता बढी हुन्थ्यो। र, शीतलमा लाखे नाच्न पनि सहज हुन्छ।
यस्तै, साँझको समयमा प्रायः नाच हेर्ने जमात बढी हुने र रमाइलो पनि हुने तर्क संस्कृतिविद् धौभडेलको छ।
पछिल्ला वर्ष भने औपचारिक मञ्चहरूमा पनि लाखे नाच देखाउने चलन सुरु भएको छ। र, दिउँसो पनि लाखे नाच देखाइन थालेको छ।
लाखे र ख्याकमा भिन्नता
कतिपयले लाखे र ख्याकलाई एकै मान्ने गर्छन्। ख्याकको पनि छुट्टै नाच हुन्छ। यद्यपि, लाखे र ख्याक थोरै भिन्नता रहेको जानकारहरू बताउँछन्। लाखेले बस्तीबाहिर रहेर सुरक्षा दिने जनविश्वास छ भने ख्याकलाई नेवारहरूको घरभित्र रहने अदृश्य शक्तिलाई भनिन्छ। ख्याल निस्पट्ट अँध्यारोमा बस्ने जनविश्वास पाइन्छ। साथै, ख्याकलाई लक्ष्मीको वाहनको रूपमा लिइन्छ भने लाखेलाई आकाश भैरवको प्रतीक मानिन्छ।
नाचको सन्दर्भमा भने ‘ख्याक नाच’ देवी तथा महाकालीअन्तर्गत नै जोडिएर आउँछ। तर, लाखेकोे अलग्गै नाच र पहिचान रहिआएको छ।
मानवप्रेमी दावनको रूपमा मानिने ख्याक, लाखे जस्ता अदृश्य शक्तिलाई देवतासरह पुज्ने चलन नेवार समुदायमा सदियौँदेखि छ। धौभडेल भन्छन्, ‘नेवार समुदायमा कुनै पनि जीव, वस्तु वा नकारात्मक मानिएका शक्तिमा थोरै देखिएका गुण मात्रैलाई पनि सराहना गर्दै समुदायमा सम्मिलित गराउने चलन छ, जसको एक ज्वलन्त उदाहरण हो लाखे।’