अवैध लागूऔषधसहित नौजना पक्राउ

काठमाडौं, भदौ ७ : अवैध लागूऔषधसहित कञ्चनपुर, रुपन्देही र सुनसरी नौजना पक्राउ परेका छन्।
कञ्चनपुरको भिमदत्त नगरपालिका-१६ मझगाउँ बाह्रसिङगे चौराहबाट करिब २.०६ ग्राम अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय उमेश ठगुन्नालाई आइतबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोस्ट मझगाउँबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
रुपन्देहीको मायादेवी गाउँपालिका-८ पानी ट्याङ्की स्थितबाट करिब ५ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित दुईजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका-८ लखनचोक बस्ने २५ बर्षीय अफताव खान र गुल्मी रुरु गाउँपालिका-२ बस्ने २५ बर्षीया लक्ष्मी कुवंर रहेका छन्। वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
सुनसरीको धरान उपमहानगरपालिका-१० स्थित ड्रिमल्याण्ड होटलको ३६ नम्बरको कोठाबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-३ बस्ने २४ बर्षीय मो।नुरदिन र सप्तरी राजविराज नगरपालिका-११ बस्ने ३० वर्षीय वर्मदेव चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-३ बांगे नडाह सडकखण्डबाट ७ ग्राम ४ सय ३० मिलिग्राम खैरो हेरोइनसहित चारजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका(६ बस्ने पुरुषोतम मेहता, २९ वर्षीय विशाल बस्नेत, सोही नगरपालिका-९ बस्ने २८ वर्षीय पाथे चन्द्रबंशी र सोही ठाउँ बस्ने २८ वर्षीय जयन्त माइला रहेको प्रहरीले जनाएको छ।
बांगेबाट नडाहतर्फ जाँदै गरेको प्र १–०२–०४४ प ४५५६ र प्र १–०२–०४२ प ४२२९ नम्बरको मोटरसाइकललाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर विशेष ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो।












