नेवार समुदायले यसरी सम्झिए दिवंगत आफन्त (फोटो फिचर)
नेवार समुदायमा गाईजात्रालाई ‘सापारु’ पनि भन्ने गर्छन्। बितेको वर्षमा कुनै घरमा दिवंगत आफन्तका नाममा साे समुदायका मानिसहरूले गाईजात्रा निकाल्ने परम्परा छ।काठमाडौं, भदौ ६ : आज भाद्र कृष्णपक्ष प्रतिपदा अर्थात् गाईजात्रा। हरेक वर्ष यस दिनमा काठमाडौं उपत्यकामा विशेषगरी नेवार समुदायमा गाईजात्रा पर्व भव्य रूपमा मनाउने गरिन्छ।
नेवार समुदायको बाक्लो उपस्थिति रहेका बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा, पोखरालगायत स्थानमा पनि यो पर्व मनाउने गरिन्छ।
नेवार समुदायमा गाईजात्रालाई ‘सापारु’ पनि भन्ने गरिन्छ। बितेको वर्षमा कुनै घरमा दिवंगत भएका आफन्तका नाममा साे समुदायका मानिसहरूले गाईजात्रा निकाल्ने परम्परा छ।
राजा प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (दरबार) भएर जानुपर्ने जुन प्रथा बसालिएको थियो, त्यो अझै कायमै छ। त्यसकारण काठमाडौं उपत्यकामा खासगरी हनुमानढोका आसपासमा गाइजात्राको रौनक नै बेग्लै खालको हुन्छ। यस अर्थमा उपत्यकामा पनि हनुमानढोकालाई गाईजात्राको केन्द्र मान्ने गरिन्छ
यस पर्वमा खासगरी बालकबालिकालाई गाईको प्रतीकका रूपमा सिँगार्ने र बाजागाजासहित उनीहरुलाई सहर डुलाउने गरिन्छ। गाई नै लिएर टोलटोलमा डुलाउने चलन पनि छ। त्यसक्रममा टोलटोलमा भेला भएका मानिसहरुले उनीहरूको पूजा गर्ने गर्छन्। सोही क्रममा उनीहरूलाई दान दिने परम्परा पनि रहिआएको छ।
कोरोना संक्रमणका कारण प्रशासनले सांकेतिक रुपमा मात्रै गाईजात्रालगायत पर्वहरू मनाउनू भनेको छ। जनस्वास्थ्यका मापदण्ड कायम गरी, भिडभाड नगरी सांकेतिक रूपमा पर्वहरू मनाउन सरकारकाे आग्रहबमोजिम गाईजात्रा मनाइएकाले कोरोना संक्रमण हुनुभन्दा अगाडिका वर्षहरूमा जस्तो रौनक भने यसपालि देखिएको छैन।
तथापि आज बिहानैदेखि खासगरी हनुमानढोका क्षेत्रवरिपरि आफन्त दिवंगत भएका घरबाट गाईजात्रा निकालिएको छ। बालबालिकालाई गाईका रूपमा सिँगारेर डुलाइएको दृश्यले गाईजात्राको महत्वलाई उजागर गरेका छन्।
कसैले दिवंगत व्यक्तिको तस्बिर बोकेर र्गाजात्रा निकालिएको देख्न सकिन्छ। कतैकतै गाई नै डोर्याएर हिँडेको दृश्य पनि देख्न सकिन्छ। बाजागाजाको मौलिक धुनले पनि वातावरणलाई उत्सवमय बनाइदिएको छ।