विपन्नलाई पूर्वाञ्चलको निःशुल्क स्वास्थ्य बिमा
बिर्तामोड, भदौ ५ : पूर्वाञ्चल क्यान्सर अस्पतालले गरिब, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको छ। आज अर्जुनधारा नगरपालिका–२ र ३ का ६७ परिवारलाई...
बिर्तामोड, भदौ ५ : पूर्वाञ्चल क्यान्सर अस्पतालले गरिब, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको छ। आज अर्जुनधारा नगरपालिका–२ र ३ का ६७ परिवारलाई अस्पतालले निःशुल्क स्वास्थ्य बिमा गरेको हो।
अस्पतालका अध्यक्ष दुर्गाप्रसाद प्रसाईँले आज अर्जुनधारा नगरपालिकास्थित खुदुनाबारीमा आयोजित कार्यक्रममा ती विपन्न, गरिब परिवारलाई स्वास्थ्य बिमाको कार्ड वितरण गरेका हुन्।
कार्यक्रममा संविधानसभा सदस्य प्रेम गिरीले गरिब, आर्थिक अवस्था कमजोर भएका व्यक्ति बिमाको पहुँचमा पुग्न नसकेकाले अस्पतालले बिमा गरिदिएर स्वास्थ्य सेवामा पाउने बताए।
अस्पतालका अध्यक्ष प्रसाईँले सामाजिक उत्तरदायित्वअनुसार गरिब, विपन्न परिवारलाई आफूले निःशुल्क बिमा गरेको बताए। उनले गरिब, आर्थिक अवस्था कमजोर भएर बिमा गर्न नसकेका त्यस्ता नागरिकलाई बिमा गरेर स्वास्थ्यमा पहुँच पु¥याउन थालिएको समेत बताए। सतसठ्ठी ६७ घरपरिवारका करिब ३०० व्यक्तिले वार्षिकरूपमा निःशुल्क एक लाख बराबरको स्वास्थ्योपचार पाउनेछन्।
उनका अनुसार यस वर्ष अस्पतालले गरिब, विपन्न, आर्थिक अवस्था कमजोर भएका एक हजार परिवारलाई स्वास्थ्य बिमा निःशुल्क गरिदिने बताए।
वडा नं २ का अध्यक्ष रघु खनालले अर्थावस्था कमजोर भएका व्यक्तिले बिमाको रकम तिर्न नसकेर स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको अवस्थामा अस्पतालले निःशुल्क बिमा गरिदिएर स्वास्थ्य सेवा प्रदान गर्न थालेको बताए। बिमितले एक वर्षसम्म एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा निःशुल्क अस्पतालबाट पाउनेछन्।
अस्पतालका अध्यक्ष प्रसाईँले ती बिमितको वार्षिकरूपमा अस्पतालले नै नवीकरण गर्ने जानकारी दिए। एक घर परिवारमा तीन हजार ५०० रुपैयाँमा बिमा गरे एक वर्षसम्म एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा पाइने गरिन्छ। सरकारले विसं २०७२ देखि कैलाली जिल्लाबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो। अहिले ७५ जिल्लामा बिमा कार्यक्रम सञ्चालन भएको छ।











