एनआरएनए युरोप उपसंयोजकमा भीम केसीले उम्मेदवारी दिने
काठमाडौं, भदौ ५ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनमा किस्टानो रोनाल्डोको देश भनेर चिनिने पोर्चुगलबाट युरोपको उपसंयोजकमा भीम...
काठमाडौं, भदौ ५ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनमा किस्टानो रोनाल्डोको देश भनेर चिनिने पोर्चुगलबाट युरोपको उपसंयोजकमा भीम केसी (कमल), युवा संयोजक पदमा रोबर्ट लिम्बूले उम्मेदवारी दिने तयारीमा छन्।
पोर्चुगलका पूर्वअध्यक्ष भीम केसी डेढ दशकदेखि एनआरएनए अभियानमा सक्रिय छन्। उनी एनआरएनए पोर्चुगलको अध्यक्ष, उपाध्यक्ष र सल्लाहकारका रूपमा समेत आफ्नो भूमिका निर्वाह गरिसकेका छन्।
एनआरएनएको केन्द्रीयस्तरका विभिन्न समिति र कार्यदलमा रहेर काम गरेको अनुभव उनीसँग छ। पोर्चुगल र युरोपमा रहेका नेपाली आप्रवासीहरुको हकहित र अधिकार स्थापित गर्न निरन्तर काम गर्दै आएका छन्।
आप्रवासीसम्बन्धी कानुनमा सरलीकरणको लबिङ गर्दै पोर्चुगलका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलाई ज्ञापनपत्र पठाउने, पोर्चुगलको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संसदीय दलसँगको प्रत्यक्ष भेटघाट र छलफल सहभागी भई नेपाल एवं दक्षिण एसिया क्षेत्रकै आप्रवासीहरु समस्या समाधान गर्न केही हदसम्म भूमिका खेलेका थिए।
बाग्लुङको जैमिनी नगरपालिका-२ मा जन्मिएका केसीले शिक्षा र व्यवस्थापनमा स्नातकोत्तर गरी १० वर्षसम्म शिक्षण एवं शिक्षा प्रशासनको उच्च सरकारी तहमा काम गरेका थिए।
केसी हाल विश्वका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो जन्मेको पोर्चुगलको सुन्दर टापु मदेइरामा आफ्नै पर्यटन, ट्रान्स्पोर्ट र रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन्।
युरोप क्षेत्रीय संयोजकमा पोर्चुगलका लिम्बूले उम्मेदवारी एनआरएनएको १०औँ विश्व अधिवेशनको नजिकै गर्दा युरोप क्षेत्रीय संयोजकमा पोर्चुगलबाट रोबर्ट लिम्बूले उम्मेदवारी घोषणा गरेका छन्।
युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको बताउने लिम्बूले युरोपेली मुलुकमा कार्यरत नेपाली युवाको सीपलाई नेपालका युवासम्म लैजाने र उनीहरुसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजनाका साथ आफ्नो उम्मेदवारी भएको बताएका छन्।
पछिल्लो समयमा सङ्घको अभियानप्रति युवाहरू चासो नभएको युवा शक्तिलाई एकीकृत गर्दै युवाहरुलाई समेट्न आफूले युवामैत्री कार्यमा विशेष कदम चाल्नेसमेत उनले बताए।
लिम्बू विगत १३ वर्षदेखि पोर्चुगलमा सफल युवा व्यवसायीको छुट्टै पहिचान बनाउँदै आएको छ। उहाँ एनआरएनए पोर्चुगल कार्यसमिति सदस्य, संरक्षक र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन्।











