नक्कली कागजात बनाई ठगीमा संलग्न रहेको आरोपमा भारतीय नागरिक पक्राउ
काठमाडौं, भदौ ४ : नक्कली कागजात बनाई ठगीमा संलग्न रहेको आरोपमा पक्राउ ललितपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-५...
काठमाडौं, भदौ ४ : नक्कली कागजात बनाई ठगीमा संलग्न रहेको आरोपमा पक्राउ ललितपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-५ सेतीपाखा बस्ने भारत हिमाञ्चल सिम्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भन्ने रविकुमार सिंह रहेको प्रहरीले जनाएको छ।
सिंहले नेपालको विभिन्न जिल्लाहरू (कैलाली, सुर्खेतलगायत) को ठेगाना बताई विभिन्न बहानामा ठगी गरेको भन्ने जाहेरी परेपछि महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर–५ सेतीपाखाबाट पक्राउ गरेको हो।
सिंहले बुटवल-नाराणघाट सडक खण्डको दायाँबायाँको रुख कटानको सब कन्ट्र्याक्ट छ भनी भनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडको कागजात देखाई अञ्जली कन्स्ट्रक्सन र सिंहको साझेदारी हो भन्दै लगानी गरे मुनाफाको ४० प्रतिशत दिने भनी रुपन्देही बुटवल उपमहानगरपालिका-८ बस्ने दुईजनालाई विश्वास दिलाई ४३ लाख ७३ हजार रुपैयाँ लिई पैसा नभएको कुमारी बैंकको चेक दिई ठगी गरेको प्रहरीको भनाय छ।
त्यस्तै अञ्जुली कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर हुँ भन्दै रुपन्देही सांस्कृतिक नगरपालिका-६ बस्ने पीडितको बा१२च ३८५९ नम्बरको कार मासिक ९० हजार रुपैयाँ दिने भनी २०७६ वैशाखमा लगी सम्पर्कविहीन भएको तथा पैसाको खाँचो परेको भन्दै उक्त कार र ब्लुबुक धितो बन्धकी राखी काठमाडौं महानगरपालिका-३१ बस्ने पीडितसँग ८ लाख ३५ हजार रुपैयाँ ठगी गरेका थिए ।
त्यस्तै चुरियामाई इन्टरप्राइजेज जडीबुटी काठमाडौंका सञ्चालकसँग बजाज कम्पनीको बा९५ प १६८ नम्बरको मोटरसाइकल खरिद गर्ने भन्दै ३० हजार रुपैयाँ दिई बाँकी पैसा पछि दिन्छु भनी सम्पर्क विहिन भई ठगी गरेको, धनुषा जनकपुरधाम उपमहानगरपालिकास्थित न्यू साह एन्ड इन्टरप्राइजेजका सञ्चालकलाई रोयल हाइड्रो कस्ट्रक्सन प्रालिको म्यानेजिङ डाइरेक्टर हुँ भन्दै प्रदेश–३–०१ ०२३ च ००५० नम्बरको कार मासिक १ लाख ५० हजार रुपैयाँ भाडा दिन्छु भनी ठगी गरेको प्रहरीले जनाएके छ।
त्यसैगरी काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित रोयल हाइड्रो कस्ट्रक्सन प्रालिको नक्कली लेटरप्याड, कम्पनीको छाप, नक्कली दस्तखत प्रयोग गरी आफूलाई संस्थापक अध्यक्ष भन्दै विभिन्न व्यक्तिलाई करिब १ करोड रुपैयाँ ठगी गरेको र जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट लाटीकोइली-७ ठेगाना भएको नागरिकता बनाई सोही नागरिकता प्रयोग गरी विभिन्न बैंकहरूमा खाता खोली ठगी कार्यमा प्रयोग गरेको तथा सवारी चालक अनुमतिपत्र समेत किर्ते गरी बनाएको अनुसन्धानबाट खुल्न आएको छ।
उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।












