Kathmandu Press

बैतडी अस्पतालमा अक्सिजन प्लान्ट स्थापनामा ढिलाइ

बैतडी, भदौ ३ : जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाको काम सुरु हुन सकेको छैन। गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर...
बैतडी अस्पतालमा अक्सिजन प्लान्ट स्थापनामा ढिलाइ

बैतडी, भदौ ३ : जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाको काम सुरु हुन सकेको छैन। गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको भए पनि कम्पनीले हालसम्म प्लान्ट जडानको काम सुरु गरेको छैन।

प्लान्ट जडानका लागि संघीय सरकारबाट एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो। बोलपत्र आह्वान गरी सप्लायर्स छनोट गरेको भए पनि हालसम्म पनि जडानको काम शुरु नभएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए ।

गत आर्थिक वर्षको असारभित्र प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको हो। गत असारमा अस्पताल र कम्पनीबीच सम्झौता भएको थियो र यसपछि कम्पनीले प्लान्ट जडानका लागि एक महिना थप गरिदिन निवेदन दिएको थियो।

‘एक महिना थप गरेको अवधिमा पनि प्लान्ट जडानको काम शुरु भएको छैन,’ उनले भने, ‘कम्पनीको मान्छेसँग सम्पर्क गर्दा चीनबाट सामग्री मगाएका छौं, अझै नेपालमा पुगेको छैन भन्ने जवाफ आएको छ।’

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै बैतडी जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो। तेस्रो लहर आउने सम्भावना बढेको भए पनि प्लान्ट स्थापनाको काम नहुँदा महामारी फैलियो भने पनि उपचारमा समस्या हुने देखिएको छ।

जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ। प्लान्ट स्थापना भएपछि आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सकिने जनाइएको छ।

उक्त प्लान्ट ५० बेडको अस्पतालका लागि पनि सहयोग पुग्ने विश्वास गरिएको छ। ‘प्लान्ट स्थापनाले ५० बेडको अस्पताल सञ्चालनमा आएपछि त्यसका लागि पनि सहयोग पुग्छ, कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य शल्यक्रिया, सघन उपचार कक्ष सञ्चालनका लागि पनि सजिलो हुन्छ,’ उनले भने।

अस्पतालमा सय बढी अक्सिजन सिलिन्डर छन् भने ३२ कन्सन्ट्रेटर छन्। भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: १५:१६ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्