कञ्चनपुरमा बढे भाइरल ज्वरोका बिरामी
महेन्द्रनगर, भदौ ३ : कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ। केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका...
महेन्द्रनगर, भदौ ३ : कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ। केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ।
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक एक सयभन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले जानकारी दिए। 'भाइरल ज्वरो बढे पनि कोरोना भने होइन,' डा. श्रेष्ठले भने, 'कोरोना सङ्क्रमित पाँच जनाको उपचार हुँदै छ।'
त्यसैगरी महाकाली अस्पतालमा अक्सिजन हरेक वार्डमा पाइलपालइनबाट पुर्याउने गरी काम भइरहेको छ। युएनओपिएस संस्थाको सहयोगमा यहाँ अक्सिजन प्लान्ट जडान गरिने अस्पतालले जनाएको छ।
युएनओपिएसले प्लान्टको ८० प्रतिशत उपकरण मगाइसकेको जनाएको छ। अहिले अस्पतालमा पाइपलाइन विस्तारको काम भइरहेको छ।
अस्पतालमा सङ्क्रमित भएर उपचारका लागि आउने र निको भएर घर फर्किने क्रम सामान्यरुपमा चलिरहेको छ। स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्थामा पनि भाइरल ज्वरोका बिरामी आउने क्रम बढेको छ।
स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीबाट बिरामीको तथ्याङ्क जिल्लामा आउन बाँकी रहेको जनाएको छ। (रासस)











