Kathmandu Press

काेरोनाविरुद्ध लड्न नेपाललाई अमेरिकाद्वारा थप सहयोग

काेरोनाविरुद्ध लड्न नेपाललाई अमेरिकाद्वारा थप सहयोग

काठमाडौं, भदौ २ : कोराना महामारीविरुद्ध लड्न नेपाललाई अमेरिकाले थप सहयोग गरेको छ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीले मंगलबार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) नेपालकी नियोग प्रमुख सेपिडे केभान्साडका साथ  वीर अस्पताल र परोपकार प्रसूति अस्पताललाई दुईवटा तरल अक्सिजन ट्याङ्क अनुदानस्वरुप प्रदान गरे।

यी तरल अक्सिजन प्रणालीहरू उक्त अस्पतालका केन्द्रीय अक्सिजन प्रणालीसँग जोडिएका छन् र यिनले अक्सिजनको अविच्छिन्न आपूर्ति गर्ने वा एक घण्टामा ४० लिटर क्षमताका लगभग ४० वटा सिलिन्डर भर्नेछन्। युएसएआईडीको सहयोगमा थप चारवटा तरल अक्सिजन ट्याङ्कहरू देशभरका विभिन्न अस्पतालहरूमा जडान गरिने पनि अमेरिकी दूतावासले जनाएको छ।

मंगलबार नै अमेरिकाले नेपाललाई युएसएआईडीमार्फत थप १ करोड ५ लाख अमेरिकी डलरको अत्यन्त जरुरी कोभिड–१९ सहायता प्रदान गर्ने घोषणा पनि गरिएको छ। सो थप रकम सहायताले पालिकाहरूमा निगरानी तथा कन्ट्याक्ट ट्रेसिङ सुदृढ गर्ने, प्रयोगशाला प्रणालीहरूलाई टेवा पुर्‍याउने र सीमा नाकाहरूमा हुने एन्टिजेन परीक्षणको विस्तार गर्ने बताइएको छ।

कोषले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोभिडसम्बन्धी संहिता तथा मार्गदर्शन विकास गर्न, ‘सर्ज’ क्षमता अभिवृद्धिका निम्ति स्वास्थ्यकर्मीहरूको प्रशिक्षण तथा भर्ती गर्न र सघन उपचार सुदृढ गर्न पनि मद्दत गर्ने जनाएको छ।

आफ्ना साझेदारहरूसँग मिलेर कोभिडका बिरामीहरूलाई आइसोलेसन केन्द्रमा र दूर चिकित्साको माध्यमबाट उनीहरूको घरमा पनि मद्दत गर्ने, अपाङ्गता भएका मानिसहरूलाई अत्यावश्यक स्वास्थ्य र पुनर्स्थापना सेवाहरूको निरन्तरता सुनिश्चित गर्ने र स्थानीय तहका स्वास्थ्य सेवा केन्द्रहरूलाई अन्य आवश्यक सेवाहरूले सुसज्जित गर्ने युएसएआईडीको भनाइ छ।

हस्तान्तरण समारोहमा कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी अधिकृत डा. भूपेन्द्र बस्नेत र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. सङ्गीता मिश्रको पनि उपस्थिति थियो।

यस अतिरिक्त सहायताले अमेरिकी सरकारबाट नेपाललाई प्रदान गरिएको ९ करोड अमेरिकी डलरभन्दा बढीको कोभिड–१९ सम्बन्धी सहयोगमा थप्ने काम गरेको छ, जुन सहयोग यो महामारी सुरु भएदेखि जनसङ्ख्याको ६० प्रतिशतभन्दा बढीमा पुगेको जनाइएको छ।

यस सहायतामा युएसएआईडीबाट उपलब्ध गराइएको ७.५ करोड अमेरिकी डलरको प्राविधिक तथा जिन्सी सहयोग, जस्तो कि अक्सिजन सिलिन्डर, श्वासप्रश्वास यन्त्र, भेन्टिलेटर, र व्यक्तिगत सुरक्षात्मक उपकरणहरू समावेश छन्।

प्रकाशित मिति: १४:१७ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्