आगामी तीन दिन पनि वर्षाको सम्भावना
काठमाडौं, भदौ २ : मनसुनी वायुको प्रभावले अझै तीन दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका...
काठमाडौं, भदौ २ : मनसुनी वायुको प्रभावले अझै तीन दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा तराई नजिक रहेको छ। त्यस्तै, बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली पनि रहेकाले देशभर वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।











