Kathmandu Press

अब न्यायक्षेत्रको इतिहास न्यायिक संग्रहालयमा

नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी हुनेगरी न्यायिक संग्रहालयको निर्माण गरिएको छ। सर्वोच्च अदालतले नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने संग्रहालय स्थापना गरेको हो।
अब न्यायक्षेत्रको इतिहास न्यायिक संग्रहालयमा

काठमाडौं, भदौ १ : नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी हुनेगरी न्यायिक संग्रहालयको निर्माण गरिएको छ । सर्वोच्च अदालतले नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने संग्रहालय स्थापना गरेको हो ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाले संग्रहालयको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा प्रधानन्यायाधीश राणाले न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्यायप्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्न सहयोग मिल्ने बताए । प्रधानन्यायाधीश राणाले भने, ‘न्यायपालिकाका ऐतिहासिक बस्तु संकलन गरेर संग्रहालयलाई अझै बढाउँदै लगिने योजना छ ।’

कार्यक्रममा सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लले राज्यका निकायले ऐतिहासिक पुरातात्त्विक विषय संग्रहित गरेर राख्नुपर्ने बताइन् । मल्लले न्यायिक संग्रहालय स्थापनामा संयोजन गरेकी थिइन् ।

‘संग्रहालय नेपालको न्याय र कानून क्षेत्रको विकासको सजीव इतिहास बन्ने छ,’ न्यायाधीश मल्लको भनाइ थियो । संग्रहालयमा न्याय सम्पादनका क्रममा विभिन्न समयमा भएका महत्त्वपूर्ण फैसला, न्यायायाधीश तथा न्यायपालिकाले प्रयोग गरेका पुराना सामग्री, न्याय र कानूनी क्षेत्रका पुरातात्त्विक सामग्रीहरू संग्रहित गरिएको छ । संग्रहालयमा करिब तीन सय ५० सामग्री तयार पारिएको छ ।

प्रदर्शनी कक्ष अभावमा तत्काल १५ प्रकृतिका फरक सामग्री राखिएको छ । भौतिक संरचना स्थापनापछि थप सामग्रीसमेत गरी डिजिटल संग्रहालय स्थापना गरिने मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले बताए । कार्यक्रममा संग्रहालय स्थापनामा सहयोग पु¥याउने पदाधिकारी तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: १८:२१ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्