Kathmandu Press

१२ नबज्दै बाहिरिन्छन् चिकित्सक र कर्मचारी

चितवन, भदौ १ : भरतपुर अस्पतालबाट मध्याह्न १२ बजे नै बाहिरिएपछि रेडियोलोजी विभागमा कार्यरत चिकित्सकलाई प्रमुख जिल्ला अधिकारीले टेलिफोन गरेर पुनः अस्पतालमा फर्काए। बिरामीका...
१२ नबज्दै बाहिरिन्छन् चिकित्सक र कर्मचारी

चितवन, भदौ १ : भरतपुर अस्पतालबाट मध्याह्न १२ बजे नै बाहिरिएपछि रेडियोलोजी विभागमा कार्यरत चिकित्सकलाई प्रमुख जिल्ला अधिकारीले टेलिफोन गरेर पुनः अस्पतालमा फर्काए। बिरामीका आफन्तको गुनासोपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीको टेलिफोन नउठाएपछि ती चिकित्सकलाई प्रजिअ लामिछानेले आफैँ टेलिफोन गरेर सोमबार पुनः काममा फर्काएका हुन्।

अस्पतालमा स्थायी मेडिकल सुपरिटेन्डेन्ट नहुँदा निमित्तलाई चिकित्सक र स्वास्थ्यकर्मीले टेर्दैनन्। यसका कारण अस्पतालको कामका समयमा भागेर निजीमा जाने प्रचलन बढ्दो छ। बिरामीले हैरानी व्यहोरेपछि गुनासो गर्दै घर फर्किनु वा निजीमा जानुको विकल्प छैन। भरतपुर अस्पतालका अधिकांश चिकित्सक स्वास्थ्यकर्मीको लगानीका वा काम गर्ने निजी अस्पताल छन्। चिकित्सक स्वास्थ्यकर्मीले बिहान १० देखि अपराह्न ३ बजेसम्म काम गर्नुपर्छ। यसका अतिरिक्त बोलाएका बेलामा समेत आउनुपर्ने हुन्छ।

अस्पतालका चिकित्सकहरु भने बिहान १० बजेपछि आउने र बीचमै विभिन्न बहानमा हिड्ने गरेको सेवाग्राहीको गुनासो छ। गत दुई वर्षयता अस्पतालमा ६ मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भइसकेका छन्। २०७७ साल भदौ २८ गते डा श्रीराम तिवारी सरुवा भएपछि डा राजन पाण्डे आए। उनको तीन महिनाको बसाइपछि डा जगन्नाथ तिवारीले निमित्तको जिम्मेवारी पाए।

सोही वर्षको फागुन ५ गते आएका डा वासुदेव पाण्डेको अधिकांश समय काठमाडौंमै बित्यो । उनी दु्ई महिनामै सेवानिवृत्त भए। पुनः डा जगन्नाथ तिवारीले निमित्तको जिम्मेवारी पाए। यसै वर्षको जेठ १३ गते प्रमुख मेडिकल सुपरिटेन्डेन्ड डा रोशन न्यौपाने भए। यद्यपि सधैँजसो काठमाडौं बस्ने भएकाले निमित्तको जिम्मेवारी डा तिवारीले नै सम्हाल्दै आएका छन्।  

अस्पताल विकास समितिको अध्यक्षमा डा भोजराज अधिकारी नियुक्त भएपछि ६ मेडिकल सुपरिटेन्डेन्ट बनिसकेका छन्। दुई वर्षका अवधिमा मेसु परिवर्तन हुँदा अस्पताल प्रभावित बनेको अध्यक्ष डा अधिकारी बताउँछन्। विकास समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्ने मेसु नै परिवर्तन भइरहँदा काम गर्न कठिन भएको उनको गुनासो छ।

अस्पतालमा रहेका चिकित्सक स्वास्थ्यकर्मीले तोकिएको निर्धारित समयभित्र काम गर्नुपर्ने जनाउँदै उनले सेवा प्रदायक र सेवाग्राही दुवैको हित हुने गरी विकास समितिले काम गरिरहेको बताउँछन्। चिकित्सक स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सेवासुविधा दिन समिति तयार रहेको जनाउँदै उनले तोकिएको समयमा भने काम गर्नुपर्ने बताए। उनले भने, ‘कोही पनि बिरामी उपचार नपाएर फर्किनु हुँदैन।’

केही वर्षअघि तत्कालीन प्रजिअ विनोदप्रकाश सिंहले अस्पतालमा छड्के निरीक्षण गरेर निर्धारित समयमा काम गर्नेहरुलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएका थिए। यसैबेला अस्तव्यस्त बनेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि सुधार गरिएको थियो। सेवाग्राहीहरुले अस्तव्यस्त बनेको अस्पताललाई सुधारका लागि स्थानीय प्रशासनले ध्यान दिनुपर्ने जनाउँदै आएका छन्।

प्रजिअ प्रेमलाल लामिछाने सरकारले तोकेअनुसारको सेवा दिनुपर्ने बताउँछन्। गुनासो आएमा आफूले तत्काल सम्बोधन गर्ने गरेको उनको भनाइ छ। अस्पतालमा विभिन्न विभाग भए पनि ती विभागले काम नगरेको गुनासो छ। विकास समिति र निजामती कर्मचारीबीचमा द्वन्द्व, वरिष्ठ चिकित्सकहरुको विकास समितिमा अधिकृतको मात्रै दरबन्दी, विशेषज्ञ चिकित्सकले बिरामी नहेर्ने गरेको, स्वास्थ्यकर्मीहरुको राजनीतिक खिचातानी र लडाइँ लगायतका कारण अस्पताल अस्तव्यस्त बनेको त्यही कार्यरत कर्मचारीहरु बताउँछन्।

भरतपुर अस्पताल सङ्घीय अस्पताल हो। यस अस्पतालले चितवनसहित १९ जिल्लाका बिरामीलाई सेवा दिँदै आएको छ। अस्पतालमा आएका बिरामीलाई निजीमा रिफर गर्ने समस्याका कारण सेवाग्राही प्रभावित हुने गरेका छन्। निमित्त मेडिकल सुपरिटेन्डन्ट डा तिवारी स्थायी मेसु नहुँदा पनि समस्या हुने गरेको बताउँछन्।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल सङ्घीय अस्पताल भएकाले अस्पताललाई आवश्यक स्रोतसाधन व्यवस्था सङ्घीय सरकारले गर्नुपर्ने बताउँछन्। राजनीतिक खिचातानीका कारण मेसु मन्त्रीसँगै परिवर्तन हुँदा अस्पताल प्रभावित बनेको भन्दै उहाँले कम्तीमा दुई वर्ष काम गर्ने गरी मेसु पठाउन सकेमा अस्पतालले गति लिने बताए। 

काठमाडौंपछिको ठूलो र धेरै बिरामीलाई सेवा दिनुपर्ने यस अस्पताललाई राम्रो बनाउन महानगर सधैँ लागिपरेको भन्दै उनले सेवाग्राहीको गुनासो नरहने गरी काम गर्न चिकित्सक स्वास्थ्यकर्मीलाई आग्रह गरे। रासस
 

प्रकाशित मिति: १५:५४ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्