Kathmandu Press

खाद्य सङ्कट टार्न बारेकोटमा खाद्य बैंक स्थापना गरिँदै

जाजरकोट, भदौ १ : वर्षेनी खाद्य सङ्कट झेल्दै आएको बारेकोटमा खाद्य बैंक स्थापना गर्न पहल सुरु भएको छ।विश्व खाद्य कार्यक्रम, बारेकोट गाउँपालिका र...
खाद्य सङ्कट टार्न बारेकोटमा खाद्य बैंक स्थापना गरिँदै

जाजरकोट, भदौ १ : वर्षेनी खाद्य सङ्कट झेल्दै आएको बारेकोटमा खाद्य बैंक स्थापना गर्न पहल सुरु भएको छ।

विश्व खाद्य कार्यक्रम, बारेकोट गाउँपालिका र अन्य दाताको सहयोगमा खाद्य बैंक स्थापना गर्न लागिएको हो। विभिन्न निकायको सहयोगमा खाद्यान्न भण्डारण गरी प्राकृतिक प्रकोपबाट प्रभावित तथा खाद्य सङ्कट परिरहेका नागरिकलाई खाद्यान्न सहायता गर्न खाद्य बैंकको अवधारणा अघि सार्दै काम सुरु गर्न लागिएको छ।

खाद्य बैंक स्थापनाका लागि विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको प्राविधिक सहयोगमा बारेकोट–२ लिम्सामा सामुदायिक खाद्य बैंक भवनको निर्माणसमेत गरिएको छ। भौगोलिक विकटता, यातायातको असुविधा, न्यून खाद्य, उत्पादन, बाढीपहिरो तथा प्राकृतिक प्रकोप, सिँचाइ सुविधा अभाव आदि कारणले वर्षेनी खाद्य सङ्कट व्यहोर्दै आएको बारेकोटमा स्थापना हुन लागेको खाद्य बैंकले विपन्न तथा सङ्कटासन्न परिवारलाई ठूलो राहत पुग्ने गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए।

विश्व खाद्य कार्यक्रमको नगदमा आधारित पूर्वाधार विकास कार्यक्रमले ४१ लाख ९५ हजार आठ सय ६५ को लागतमा खाद्य बैंकका लागि दुईकोठे पक्की भवन निर्माण गरेको छ। उक्त भवनको एक कोठामा खाद्य भण्डारण गोदाम बनाइनेछ भने अर्को कोठामा कार्यालय सञ्चालन हुनेछ।

गाउँपालिकाको समन्वयमा केही समयभित्रै खाद्य बैंक सञ्चालनमा ल्याइने जनाइएको छ। खाद्य बैंक सञ्चालन तथा व्यवस्थापन कार्यविधिसमेत पारित भइसकेको गाउँपालिकाका निर्मित प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताए।

बाढीपहिराबाट प्रभावित एक हजार दुई सय ३८ परिवारलाई प्रत्यक्ष रोजगारी दिने गरी नगदमा आधारित पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिएको हो। ती परिवारका सदस्यको व्यक्तिगत खातामा कार्यक्रमले तीन करोड १५ लाख ३८ हजार ७० भुक्तानी दिएको छ।

नगदमा आधातिर पूर्वाधार विकास कार्यक्रमले बारेकोटमा लघुजलविद्युत्, सिँचाइ, बाटो, विद्यालय भवन, खानेपानीलगायतका संरचना निर्माण तथा पुनःनिर्माण गरेको छ। (रासस)

प्रकाशित मिति: ०८:४० बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्