Kathmandu Press

मनाङमा भत्किएका घर बनाउन प्रत्येक परिवारलाई दुई लाख

पोखरा, भदौ १ : गण्डकी प्रदेश सरकारले हिमालपारिको जिल्ला मनाङका बाढीपीडितलाई विशेष राहतको घोषणा गरेको छ।जिल्लामा बाढीले पुर्‍याएको क्षतिको मूल्याङ्कन गरी राहत प्रदान...
मनाङमा भत्किएका घर बनाउन प्रत्येक परिवारलाई दुई लाख

पोखरा, भदौ १ : गण्डकी प्रदेश सरकारले हिमालपारिको जिल्ला मनाङका बाढीपीडितलाई विशेष राहतको घोषणा गरेको छ।

जिल्लामा बाढीले पुर्‍याएको क्षतिको मूल्याङ्कन गरी राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए। मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बरालले सोमबार जिल्लाको नासों गाउँपालिका दुई ठाउँमा पुगेर क्षतिग्रस्तस्थलको अवलोकन गरेका थिए।

स्थानीयवासी पीडितसँगको अन्तरक्रियामा मुख्यमन्त्री पोखरेलले बर्खाको सुरुमै भएको क्षतिबाट आफू दुःखी भएको बताउँदै बाढीले पूर्ण क्षति पुर्‍याएका घर निर्माणका लागि प्रतिघर दुई लाख प्रदान गर्ने घोषणा गरे। मनाङमा यो बर्खामा ८५ घर पूर्ण क्षति भएको विवरण सङ्कलन भएको छ।

खासगरी नासों गाउँपालिका १ मा ७० घरमा क्षति पुगेको छ। धारापानीमा पनि १२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए।

मुख्यमन्त्री पोखरेलले बेँसीसहर–चामे सडक खुलाउन सङ्घ सरकारले काम थालिसकेको र तालसम्म गाडी चल्न थालिसकेको बताए। त्यसभन्दा माथि पनि अहिले धमाधम काम भइरहेको छ।

मुख्यमन्त्री पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रको आवश्यकताका आधारमा प्राथमिकता तोकेर सङ्घ सरकारसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सङ्घ सरकारले मनाङलाई विपद् सङ्कटग्रस्त घोषणा गरिसकेको छ। जिल्लामा विभिन्न बस्तीको पुनःनिर्माणका लागि आफूले केन्द्रसँग समन्वय गरिहरहेको मुख्यमन्त्री पोखरेलले बताए।

मनाङ सदरमुकाम चामेमा बाढीकै कारण बिजुली बत्ती नबलेपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयमा सोलार जडान गरिसकेको छ । जसका कारण सेवाग्राहीले सहजै सेवा लिन पाएका छन्। (रासस)

प्रकाशित मिति: ०८:०९ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्