गोर्खा सैनिककाे समान पेन्सन सुविधाका लागि पहल गर्न एमालेको माग

काठमाडौं, साउन ३१ : एमालेले बेलायती सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानार्थ अविलम्ब कूटनीतिक पहल गर्न माग गरेको छ।
बेलायती सहकर्मीसरह पेन्सनलगायत समान सुविधा पाउनुपर्ने माग राखेर उनीहरूले लामो समयदेखि गर्दै आएको आन्दोलनप्रति गम्भीर भई समस्या समाधानका लागि बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहल गर्न एमालेले माग गरेको हो।
एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीद्वारा आइतबार जारी विज्ञप्तिमा बेलायती सेनामा कार्यरत रहेर वीरता, दुःखकष्ट र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकले उठाएको समानताको आवाज स्वाभाविक, जायज र मानवीय भएकाले पूर्ववर्ती सरकारले भूपू गोर्खा सैनिकका सरोकारलाई संवोधन गर्न बेलायती सरकारलाई बारम्बार आग्रह गरेको स्मरण गराइएको छ।
समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायतबीचको २ सय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर यस समस्याको समाधान गर्न बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहलका एमालेले सरकारको ध्यानाकर्षण गराएको हो।











