Kathmandu Press

टिपिकल प्रेमकथाको बक्समा फसेको ‘सानो मन’

काठमाडौं, असार २९ : पछिल्लो समय नेपालमा कमेडी फिल्मले दर्शकको भिड तानिरहेको छ। प्रेम कथामा आधारित फिल्मले दर्शकलाई त्यति आकर्षित गर्न सकेका छैनन्। तैप....

टिपिकल प्रेमकथाको बक्समा फसेको ‘सानो मन’

काठमाडौं, असार २९ : पछिल्लो समय नेपालमा कमेडी फिल्मले दर्शकको भिड तानिरहेको छ। प्रेम कथामा आधारित फिल्मले दर्शकलाई त्यति आकर्षित गर्न सकेका छैनन्। तैपनि ‘लभ स्टोरी’मा आधारित फिल्म बन्ने क्रम बढ्दो छ।

शुक्रबार रिलिज भएको फिल्म ‘सानो मन’ पनि प्रेम ककथामै आधारित छ। विशेष गरी ‘टिन एजर’ दर्शकलाई लक्षित गर्दै फिल्म बनाइने गरिन्छ। सुयोग गुरुङ निर्देशित ‘सानो मन’ पनि ‘टिन एजर’प्रति नै लक्षित छ। यो एउटा म्यूजिकल लभ स्टोरी फिल्म हो। अधिकांश नेपाली फिल्मजस्तो यो खिचडी शैलीको छैन। यसमा शुद्ध लभ स्टोरी मात्र छ। तर, यति हुँदाहुँदै पनि सानो मनमा कोरियन र बलिउड फिल्मको प्रभाव प्रशस्त भेटिन्छ।

प्रेमी–प्रेमिकामध्ये एकको कुनै अज्ञात रोगका कारण निधन हुने कथा धेरै कोरियन फिल्ममा हेर्न पाइन्छ। नेपाली फिल्ममा पनि यसको अनुसरण गरिदै आएको छ। ‘सानो मन’मा पनि यस्तै ट्रेजेडी हेर्न पाइन्छ।  त्यस्तै फिल्मका कतिपय दृश्य बलिउडबाट सापटी लिइएको महसुश हुन्छ। फिल्ममा नविनता खासै धेरै केही छैन। जसले यसलाई औसत लभ स्टोरी फिल्म बनाएको छ। 

Hardik ivf

सान्या शाक्य (शिल्पा मास्के्) आमा र हजुरआमाको छाहारिमा हुर्किएकी सिम्पल केटी हुन्छिन्। उसलाई भाग्य र चमत्कार मात्रै फिल्म र कितावमा हुन्छ भन्ने लाग्थ्यो। र हरेक लभ स्टोरी फिल्ममा जस्तै शान्याको त्यो सोच परिवर्तन गर्न उसको जिन्दगीको ढोका ढकढकाउँदै आउँछन् निर्वाण।

निर्वाण जो शान्याभन्दा विलकुल अलग मोजमस्ती गर्ने खालको केटा हुन्छ। जो विगतलाई भुलेर भविष्यलाई बेवास्ता गरेर वर्तमानमा रमाउँछ। तर दुवैमा मिल्ने कुरा के हुन्छ भने, दुवै जनामा शारीरिक अस्वस्थता देखा पर्छ। त्यही अस्वस्थताले नाटकीय रुपमा शान्या र निर्वाणको भेट हुन्छ। अनि सुरु हुन्छ ‘सानो मन’को म्यूजिकल लभ स्टोरी।

राम्रो पक्ष

अभिनेता आयुष्मान देशराज जोशीको पछिल्लो पटक मात्रै लभ स्टोरी जनराकै फिल्म ‘प्रेम दिवस’ बक्स अफिसमा नराम्रोसंग पछारिएको थियो। न फिल्ममा उनको अभिनयको तारिफ भयो न त फिल्म हलमा आउनु अघि दर्शकले थाहा पाए। हलबाट उत्रिन पनि समय लागेन।

त्यसैगरि अभिनेत्री शिल्पाका पनि न डेब्यू फिल्म ‘ब्रेकअप’ र दोस्रो फिल्म ‘कागजपत्र’ले नै राम्रो कमाइ गर्न सक्यो। दुवै फिल्मले ठिकठिकै मात्र छाप छोड्न सके। आलोचित नभए पनि सोचेजति प्रशंसा पाउन दुवै फिल्म असफल रहे। शिल्पा र आयुषमानको फिल्मी करियरलाई सानो मनले भने केही उकालो चढाउने आश गरिएको छ। किनभने फिल्ममा यी दुबैको अभिनयको सबैले तारिफ गरिरहेका छन्।

फिल्मका इमोस्नल सिनहरुमा आयुष्मान र शिल्पाको अभिनयले दर्सकको आँखा रसाउने निश्चित छ। दर्शकलाई रुवाउने फिल्मको अभाव भइरहेकोमा यसले त्यसको परिपूर्ति गरिदिन्छ भन्न सकिन्छ।  निर्वाणको साथीका रुपमा फिल्ममा डेब्यू गरेका सक्षमकृष्ण सेवेदीले पनि राम्रो सम्भावना देखाएका छन्।

र फिल्मलाई पहिलो पटक एक्सन कट गरेर तयार पारेका निर्देशक सुयोग गुरुङको काम पनि तारिफयोग्य नै छ। वर्षैदेखि निर्देशनमा लागिरहेका निर्देशक पनि चुक्ने क्षेत्रमा सुयोगले पहिलो प्रयासमै यतिको काम देखाउनु भनेको राम्रो हो।

नराम्रो पक्ष

सानो मनमा २ यात्रा देखाइएको छ,जसले फिल्मको मेन स्टोरीलाई अघि बढाउन टेक दिइरहेको छ। पहिलो यात्रा, शान्या भैरहवाबाट काठमाडौंजाँदा गरिएको छ। दोस्रो यात्रा चाहिँ शान्या र निर्वाणले शान्याको बुबालाई भेट्न थाइल्याण्डसम्म गर्छन्। 

तर यति हुँदा हुँदै पनि पटकथा परिपक्व नबन्दा दुवै यात्रा जति गम्भीर र वजनदार हुनुपर्ने हो, त्यो देखिँदैन। डेब्यू निर्देशकका रुपमा आएका सुयोगले सानासाना कुरामा ध्यान दिन चुक्दा फिल्म खासै स्तरीय बन्न सकेको छैन। जस्तै शान्याको बुबा र आमा छुट्टिएको १० वर्षमात्रै भयो भन्दाभन्दैपनि अर्को सिनमा शान्या सानै हुँदा बुबाको माया नपाएको भन्ने डायलग सुनिन्छ। यस्तो द्विविधा किन ?

सिनेम्याटोग्राफीमा पनि फिल्म केही चुकेको देखिन्छ। फिल्ममा अन्तिममा के हुन्छ भन्ने कुरा इन्टरभल अगाडीको परिवेशले नै केही अनुमान लगाउन सजिलो बनाइदिने छन्। यस कारण फिल्मको अन्तिमसम्म दर्शकलाई बाँधेर राख्न असफल हुने देखिन्छ। अरु नेपाली लभ स्टोरी फिल्ममा जस्तै यसमा पनि इमोसन्सको गहिराइ भेटिँदैन। दर्शकलाई रुवाउन पर्छ भन्दै जबरजस्ती मुख्य पात्रलाई रोगी वा कमजोर बनाइएको छ। पटकथाको ट्रिटमेन्ट सतही छ। त्यहीभएर दर्शकलाई यसले खासै छुँदैन।

अनमोल केसीका दुई फिल्म जेरी र ए मेरो हजुर ३ हेरिसकेकालाई यो फिल्मको कथामा कुनै उत्साह हुँदैन। उस्तैउस्तै कथा छन् सबै फिल्ममा। लवमा धेरै थरीका ट्रेजेडी हुन्छन्। तर सानो मनमा उही परम्परागत ट्रेजेडीको सहारा लिइएको छ। लवस्टोरी फिल्म बनाउने भए निर्देशक र लेखकहरुले ताजा कथा लेख्न र खिच्न आवश्यक छ।

दर्शकलाई पटकपटक झुक्याइयो भने नेपाली फिल्मप्रति युवा दर्शकको विश्वास गुम्ने निश्चित छ। एकैखाले कथाले कलाकारको करियरलाई पनि बेफाइदा गर्छ। सानो मनका निर्देशक सुयोगले पनि भविष्यमा ताजा कथालाई पर्दामा उतार्न जरुरी छ।

प्रकाशित मिति: २०:०९ बजे, आइतबार, असार २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्