थाल ठटाउँदै बँदेल धपाउँदै
भक्तपुर, साउन ३१ : भक्तपुरको नगरकोट, तेलकोट र छालिङलगायतका क्षेत्रमा बँदेलले मकै नष्ट गरिदिएपछि किसान समस्यामा परेका छन्। ती क्षेत्रका सयौँ रोपनी जग्गामा...
भक्तपुर, साउन ३१ : भक्तपुरको नगरकोट, तेलकोट र छालिङलगायतका क्षेत्रमा बँदेलले मकै नष्ट गरिदिएपछि किसान समस्यामा परेका छन्। ती क्षेत्रका सयौँ रोपनी जग्गामा लगाइएको बालीलाई जङ्गली बँदेलले नष्ट गरिदिने गरेको उनीहरुको गुनासो छ।
हरेक वर्ष बँदेलले मकै, कोदो, आलुलगायतका बाली नोक्सान गरेको तेलकोट छालिङका श्याम पुरीले जानकारी दिए।
रात परेपछि बँदेलको समूह नै मकै बारीमा पसेर मकै खाने र नष्ट गरिदिने गरेको उनले बताए। जिल्ला वन कार्यालय तथा नगरपालिकालाई पटकपटक नियन्त्रण गर्न आग्रह गरिएकामा हालसम्म सम्बोधन नभएको उनीहरुको गुनासो छ।
चाँगुनारायणका बद्री अधिकारीले जङ्गलबाट राति आउने बँदेको भुण्डले आलु, कोदो मकै खाइदिने गरेको र थाल ठटाएर भगाउने गरे पनि दुःख दिन नछाडेको बताए।
नगरकोटका सन्त लामा भन्छन, ‘मकै खान बँदेल राति आउँछ। बँदेलको झुण्ड एकैपटक मकै बारीमा छिरेर मकै खाने र नष्ट गर्छ। राति थाल बजाएर धपाउनुपर्छ, डर हुन्छ। बँदेलले बाली नष्ट गरेको क्षतिपूर्ति पाउनुपर्ने यहाँका किसानको माग छ।”











