कोरोना संक्रमण बढेपछि बार अनुसार सेवा प्रवाह
काभ्रे, साउन ३१ : केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकस्थित सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले बार अनुसारको सेवा प्रवाह गर्ने...
काभ्रे, साउन ३१ : केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकस्थित सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले बार अनुसारको सेवा प्रवाह गर्ने भएका छन्।
जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले स्थानीय तह तोकेर आजदेखि बार अनुसारको सेवा दिने जनाएका हुन्। प्रशासन कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको मापदण्ड पालना गर्ने सन्दर्भमा कार्यालयमा दैनिकरूपमा सेवाग्राहीको अत्यधिक भीड बढेको र जिल्लामा कोरोना सङ्क्रमणदर बढिरहेकाले आज आइतबारदेखि स्वास्थ्य–सुरक्षाको मापदण्ड अपनाई बारअनुसार सेवा तोकिएको जनाएको छ।
अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल, पाँचखाल नगर र पनौती नगरपालिकाका लागि आइतबार, मङ्गलबार र बिहीबार तथा बनेपा नगर, मण्डनदेउपुर नगर र नमोबुद्ध नगरपालिकाका लागि सोमबार, बुधबार र शुक्रबार सेवा प्रवाह हुने जनाइएको छ। गाउँपालिकाको हकमा भने हरेक दिन सेवा उपलब्ध रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए।
यस्तै जिल्ला मालपोत कार्यालय धुलिखेलले पनि बार अनुसारनै सेवा प्रवाह गर्ने जनाएको हो। जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै कार्यालयले स्थानीय तहका नागरिकलाई बार अनुसार सेवा उपलब्ध गराउन थालेको हो।
कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि बनेपा र नमोबुद्ध नगरलाई आइतबार र बुधबार, धुलिखेल र मण्डनदेउपुर नगरलाई सोमबार र बिहीबार तथा पाँचखाल र पनौती नगरलाई मङ्गलबार र शुक्रबार सेवा उपलब्ध गराउने जनाएको हो। गाउँपालिकाको हकमा भने हरेक दिन सेवा उपलब्ध रहेको कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
यसैबीच काभ्रेमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमणदर बढिरहेको तथ्याङ्कले देखाएको छ। जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) का अनुसार हाल जिल्लामा ६४३ कोरोना सङ्क्रमित छन्।
गत महिना जिल्लामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झरे पनि साउनमा मृत्युका घटना भइरहेका छन्। जिल्लामा हालसम्म १३ हजार ५३९ जनामा कोरोना सङ्क्रमण देखिएकामध्ये १८२ को मृत्यु भइसकेको छ। (रासस)











