Kathmandu Press

बैंकिङ कसूर र लिखत सम्बन्धी कसूरमा संलग्न फरार प्रतिवादी पक्राउ 

काठमाडौं, साउन ३० : बैंकिङ कसूर र लिखत सम्बन्धी कसूरमा संलग्न फरार प्रतिवादी काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका १ का ४३ वर्षीय केदार ढुंगाना पक्राउ...
बैंकिङ कसूर र लिखत सम्बन्धी कसूरमा संलग्न फरार प्रतिवादी पक्राउ 

काठमाडौं, साउन ३० : बैंकिङ कसूर र लिखत सम्बन्धी कसूरमा संलग्न फरार प्रतिवादी काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका १ का ४३ वर्षीय केदार ढुंगाना पक्राउ परेका छन्।  

ललितपुर जिल्ला अदालतबाट २०७७ पुस २० गतेको फैसलाले सरकारी छाप तथा दस्तखत कीर्ते (हालको मुलुकी अपराध संहिता, २०७४ को लिखत सम्बन्धी कसूर) कसूरमा १० वटा मुद्दामा ढुंगानालाई १० वर्ष कैद र ७ लाख रुपैयाँ जरिवान ठहर भएको थियो। 

सो कसूरको अनुसन्धानको क्रममा पक्राउ परेका प्रतिवादीहरुको बयानबाट ढुंगानाको संलग्नता रहेको खुल्न आए पश्चात निजलाई पक्राउ गर्न २०७५ पुस ४ गते पक्राउ अनुमति लिई खोजतलास गर्दा निज नेपालमा फेला नपरेको र संयुक्त अरब ईमिरेट्समा रहेको भन्ने बुझिन आए पश्चात निजलाई अन्तर्राष्ट्रिय स्तरमा खोज तलास एवं पक्राउ गर्न २०७५ पुस १७ गते डिफ्यूजन जारी भएको र उक्त डिफ्यूजन २०७८ बैशाख ३१ गते रेड नोटिसमा रुपान्तरण भएको थियो। साथै ढुंगानाले पोर्चुगलमा रेसिडेन्स परमिटको लागि आवेदन दिएको जानकारी २०७७ जेठ १६ गते प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामा प्राप्त भए पश्चात उक्त शाखाले नेशनल सेन्ट्रल ब्यूराे लिस्बन, पाेर्चुगलसँग समन्वय गरी ढुंगानालाई पोर्चुगलबाट पक्राउ गरी शनिबार नेपाल ल्याइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ। 

नारायण बहादुर श्रेष्ठसमेत १२ जना प्रतिवादीहरुले काठमाडौं र ललितपुरका देवः विकास बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरुमा विभिन्न सवारी साधनहरु सुरक्षण बापत बैंकको नाममा पास गरी सवारी साधन कर्जा बापत २ करोड ७१ लाख ७६ हजार रूपैयाँ रकम लिई बैंकको कर्जा रकम नबुझाए पछी लिलामी गर्ने प्रयोजनको लागि बैंकले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारी साधनहरु बैंकको नाममा नरहेको जानकारी गराए पश्चात निज प्रतिवादीहरुले बैंकलाई हानी नोक्सानी पुर्‍याउने कार्य गरेको देखिन आएकोले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कारवाही गर्न उक्त ब्यूरोमा २०७५ मंसिर २१ गते जाहेरी दरखास्त प्राप्त भएको थियो।

अनुसन्धानको क्रममा ढुंगाना समेतले सवारी साधन कर्जा लिने प्रयोजनको लागि बैंकमा पेश गरेका सवारी दर्ता प्रमाण पत्र समेतका कागजातहरु केदार समेतले कीर्ते (नक्कली) बनाई पेश गरेको खुल्न आएको हुँदा सरकारी छाप तथा दस्तखत कीर्ते कसूर शीर्षकमा काठमाडौं जिल्ला अदालतमा ५ वटा मुद्दा र ललितपुर जिल्ला अदालतमा १० वटा मुद्दा दायर भएकोमा ललितपुर जिल्ला अदालतबाट १० वटै मुद्दा फैसला भई प्रतिवादी ढुंगाना समेतका कसूरमा संलग्न प्रतिवादीहरुलाई प्रत्येक मुद्दामा १ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो। साथै काठमाडौं जिल्ला अदालतमा दायर भएका लिखत सम्बन्धी कसूरमा ५ वटा मुद्दा र उच्च अदालत, पाटन, ललितपुरमा दायर भएका बैंकिङ कसूर सम्बन्धी १६ वटा मुद्दा विचाराधीन रहेको छ।

उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिने उक्त ब्यूरोले जनाएको छ। 

प्रकाशित मिति: १९:२० बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्