थापाथली क्षेत्रको वाग्मती किनारमा बढ्यो फोहर
काठमाडौं, साउन ३० : काठमाडौँ महानगरपालिका–११ स्थित थापाथली क्षेत्रको वाग्मती किनारमा सुकुम्वासीको बस्ती बढेसँगै त्यहाँ फोहर पनि बढ्न थालेको छ।अधिकार सम्पन्न वाग्मती सभ्यता...
काठमाडौं, साउन ३० : काठमाडौँ महानगरपालिका–११ स्थित थापाथली क्षेत्रको वाग्मती किनारमा सुकुम्वासीको बस्ती बढेसँगै त्यहाँ फोहर पनि बढ्न थालेको छ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले दुई वर्षअघि गरेको अध्ययनमा थापाथली क्षेत्रमा सुकुम्वासीका १३७ घर थिए। वाग्मती सफाइ महाअभियानले आज थापाथली क्षेत्रमा गरेको सफाइ एवं सुकुम्वासी बस्तीको निरीक्षणका क्रममा १२ घर बढेको भेटिएको समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिइन्। सुकुम्वासी बस्ती व्यवस्थित नगरिँदा नदी किनारमा अस्थायी संरचना बनाएर बस्ने बढ्न थालेका हुन्।
‘दुई वर्षअघि थापाथली क्षेत्रको सुकुम्वासी बस्तीको अध्ययनमा म पनि संलग्न थिएँ, त्यसबेलाको घरधुरीसहितको विवरण सङ्कलन गरिएको थियो, बस्ती व्यवस्थापनका लागि सरोकार भएका माथिल्ला निकायमा पत्राचार पनि भयो, तर काम हुन सकेन, अहिलेको अध्ययन एवं निरीक्षणका क्रममा बस्ती बढेछ’उनले भनिन्।
सुकुम्वासी बस्तीको निरीक्षण एवं अध्ययनसँगै त्यस क्षेत्रमा गरिएको सफाइका क्रममा नदी किनारमा फोहर बढेको भेटिएको छ। बस्ती बढेसँगै नदी किनारमा फोहर पनि बढेको हो। नदीको बहाव क्षेत्रमा वर्सातको पानी बढेकाले सफा देखिए पनि किनारमा फोहर बढेको छ। सफाइमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत १०० जनाभन्दा धेरै अभियानकर्मीको सक्रियता थियो।
यसैगरी शङ्खमूल क्षेत्रमा पनि डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको थियो। सफाइमा टोल सुधार समितिलगायत स्थानीयवासीको सक्रियता थियो। स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक दूरी कायम गरेर सफाइ गरिएको जनाइएको छ। गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४०१ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी कुहिने फोहरलाई जमिनमुनि गाडिएको छ। नकुहिने प्लाष्टिक बोत्तलमा राखी इट्टा बनाउन उपयोग गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए।
मनोहरा सफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले २३० औँ हप्ताको सफाइ कोटेश्वरचोक ट्राफिक प्रहरी कार्यालयअघिबाट जडिबुटी चोकसम्म गरेको छ। सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख रमेश बोहरा, महानगरीय ट्राफिक प्रहरी परिसर काठमाडौँका प्रमुख रामकृष्ण देवकोटालगायत करिब ५० जनाको सहभागिता थियो।
पत्यकाका रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भेग, चक्रपथका उत्तरी र पश्चिमी खण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ। विसं २०७० जेठ ५ गते शुरु भएको सफाइ महाअभियान निरन्तर जारी छ।
महाअभियानबाट पभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान शुरु भएको हो। काठमाडौँ उपत्यकामा हाल २५ स्थानमा सफाइ भइरहेको छ। उपत्यका बाहिरका मुख्य शहर, नदी एवं प्रमुख तीर्थस्थलमा पनि सफाइ भइरहेको छ। हाल देशभर १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ।











