राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकता

काठमाडौं, साउन ३० : राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएको छ। एकतासँगै नयाँ पार्टीको नाम राष्ट्रिय मुक्ति आन्दोलन नेपाल राखिएको छ।
आज (शनिबार) रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई पार्टीबीच एकता घोषणा गरिएको हो। राष्ट्रिय मुक्ति आन्दोलन नेपालको स्थापना दिवसको अवसर पारेर पार्टी एकता घोषणा गरिएको पार्टीका कार्यकारी सभापति रामप्रसाद न्यौपानेले जानकारी दिए।
उनले भने,‘आज ऐतिहासिक दिनको अवसर पारेर एकता घोषणा गरिएको हो। राष्ट्रिय मुक्ति आन्दोलन आज १३ वर्ष पुरा भई १४औं वर्षमा प्रवेश गरेको छ, यो अवसरमा हामीले एकता घोषणा गरेका छौं। अब यसलाई आफ्नो उद्देश्यअनुसार अघि बढाउँछौं।’
उनले आफूहरु पार्टीका अभिभावक तथा संस्थापक नेता डा. जयन्तविक्रम शाहको मार्गनिर्देशनअनुसार अघि बढ्ने पनि विश्वास दिलाए। उनले पार्टीले एमसीसीविरुद्धमा सशक्त रुपमा आवाज उठाउने पनि जानकारी दिए। त्यस्तै, नेपालवाद, नेपाली जनता र नेपाल राष्ट्रवादलाई स्थापित र विकार गरेर लैजाने पनि उनले सुनाए।
त्यस्तै, कार्यक्रममा पार्टीका संस्थापक नेता डा.जयवन्तविक्रम शाहले पार्टी निर्माणदेखिको संघर्ष र उपलब्धिबारे प्रकाश पारेका थिए। उनले भने,‘हामी कुनैपनि विदेशीको नक्कल नगरी नेपाल राष्ट्रवादको रुपमा विकास गरेर जानुपर्छ, खासगरी अब जनताबाट निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको सिद्धान्तमा अघि बढ्नुपर्छ।’
रणनीतिक तथा सचिवालय समितिमा ३१ जना सदस्य रहेको र पार्टीको हाई कमाण्डमा ६ जना रहेका छन्।











