Kathmandu Press

काठमाडौं महानगरमा ८८ स्थानमा हाई मास्ट बत्ती जडान गरिने

काठमाडौं महानगरमा ८८ स्थानमा हाई मास्ट बत्ती जडान गरिने

काठमाडौं, साउन ३० : काठमाडौं महानगरपािलकाले आगामी तिहारसम्ममा आफ्नो क्षेत्रका विभिन्न स्थानमा ८८ थान हाई मास्ट बत्ती जडान गर्ने भएको छ।

मेयर उज्यालो कार्यक्रमअन्तर्गत कामपाको क्षेत्राधिकारभित्र पर्ने सार्वजनिक स्थान, उद्यान र सहरका भित्री स्थानमा रहेका बहाल र चोकहरुमा बत्ती जडान गरिने जनाइएको छ।

यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए। ‘अबको केही दिनभित्र जडान गर्ने कम्पनीसँग सम्झौता गरी आगामी भदौ दोस्रो साताबाट काम सुरु हुन्छ,’ प्रमुख थापाले भने। 

यो स्वचालित बत्ती हो, प्राकृतिक उज्यालो कम हुन थालेपछि आफैं बल्ने आवश्यकता नभएको बेला आफैं निभ्ने गर्दछ। आवश्यकता हेरी सहरको बाहिरी तथा खुला स्थानमा १६ मिटरको पोल र मानिसको बस्तीनजिक भने १२  मिटरको पोलमा बत्ती जडान गरीनेछ।

एक स्थानमा राखेको उक्त बत्तीले १ सय मिटरसम्म उज्यालो दिने बताइएको छ। यसअघि परीक्षणका लागि राष्ट्रिय सभागृहमा बत्ती जडान भइसकेको छ।   

बत्ती जडान कार्य भएसँगै रातका समयमा हुने विभिन्न किसिमका आपराधिक घटना नियन्त्रणका लागि ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ।

हाल कामपाको मुख्य सडक कालीमाटी, त्रिपुरेश्वर, कलङ्की, बालाजु लगायतका स्थानमा कहीँ बत्ती नै छैन भने भएका केही स्थानमा पनि पर्याप्त रूपमा सडक बत्ती नहुँदा सडक दुर्घटना र अपराधका घटनाहरू घटिरहेका छन्।

यस कार्यका लागि कामपाले चालु आर्थिक वर्षमा १० करोड बजेट विनियोजन गरेको छ।  

प्रकाशित मिति: १७:०० बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्