तल-माथि
हिजो तल-तल झर्थे, दलितहरू। आज, माथि उक्लिन थालेका छन्, विष्टहरू। अब बिस्तारै तल, माथि हुन थालेको छ र माथिचाहिँ तल हुन थालेको छ। समाज बदलिएको छ।घाम आज पनि स्वतन्त्रतापूर्वक आकाशमा डुलिरहेछ।
मधुरो मुखाकृतिमा, आकाशको सिङ्गो परिवृत्तमा डुलिरहेको अर्ध-अचेतजस्तो देखिने घामतिर एकसरो नजर डुलाउँदै लेखनाथले भने, ‘चुर्ने दाइ ! आजचाहिँ उसिन्याको बङ्गुरको टाउको खानुपर्छ। पोहोर साल कत्ति मीठो भा’थ्यो। सम्झिँदा पनि हप्ता दिनसम्म मुखबाट पानी रसाइरह्यो भन्या।’
चुर्ने कामी फिस्स हाँसे। लेखनाथको र्यालग्रन्थी रसाइरहेको थियो र उनले चलाएको ओठतिर पुलुक्क हेर्दै चुर्नेले भने, ‘पोहोर सालभन्दा यसपालि मासु पर्यो नि ! फेरि यो पिओर हर्रो हो। यसको मासु त जङ्गली बँनेलकै जत्तिकै स्वादिलो हुन्छ।’
‘भुङ्ग्रोमा पोल्नुस् न, एक चोक्टा। चाखुम। मेरो त मुखै रसाएर आइसक्यो भन्या,’ लेखनाथको छेउमै उभिइरहेका सुकलालले भने।
‘हतार नगर न, केटा। मालपानी नै आ’छैन। त्यो आएपछि योसित लिँदै खानुपर्छ, क्या। कति स्वादिलो हुन्छ,’ लेखनाथले भने।
‘कति ढिला गरेको हो ? कहाँ लिन पठा’को हो ?’ घनश्यामले चासो प्रकट गर्दै सोधे।
‘राजपानी मगर कान्छोकाँ त्यति मीठो छैन रे। त्यही भएर तोलाङ्गेको घरमा लिन पठा’छु। तेसैले टाइम लागेको हो,’ चुर्नेले स्पष्टीकरणको भाषामा भने।
‘ए, ल ठीकै छ। खान त मीठै खानुपर्छ,’ लेखनाथले सही थप्दै भने।
‘ल, ल कुराकानी गर्दागर्दै आइपुग्यो,’ परबाट दस लिटरको एउटा ग्यालिन झुन्ड्याउँदै आइरहेकी त्यस्तै दस-बाह्र वर्षकी एउटी बच्चीतिर सङ्केत गर्दै सुकलालले भने।
आज सिरुबारी डाँडाको सबभन्दा अग्लो स्थानमा उभिएको चुर्ने कामीको घरमा बेग्लै चहलपहल छाएको छ। केही दिनअघि मात्रै उनको घरमा झन्डै साठी÷पैँसठ्ठी केजीजतिको बङ्गुर ढालिएको थियो। केही वर्षयता भने उनको घरमा काटिएको बङ्गुर खानेहरूमा वरपर घर भएका सेते मगर, नसे दमै, तोलाङ्गे सार्कीहरूको नाम कमै आउँछन्। तलको गैयाँटार, ढकाल गाउँ, मिलनचोकबाट क्रमशः अधबैंसेका दिनहरूतिर लम्किरहेका र आफूलाई उच्च जातका भन्नेहरूका सुपुत्रहरूको लर्को लाग्ने गरेको छ। परिदृश्य पूरै बदलिएको छ। धेरै चिज बदलिएका छन्, जाबो एउटा परिदृश्य बदलिनु कुन ठुलो कुरा भयो र ?
‘अरू त ठीकै हो। तर यो चिज पिएर समाजमा बदनामी चाहिँ कमाउनु हुँदैन। हाम्ले जति पिए पनि हाम्रा बाउ-बाजेहरू त इज्जतमै बसेका थिए नि ! अहिलेसम्म पनि हाम्रो सान र इज्जत उस्तै छ, कहाँ घट्या छ र ?’ बङ्गुरको ठुलो र तात्तातो चोक्टा चपाउँदै, मुख बाउँदै लेखनाथले जातीय पहिचानको वकालत गर्न चाहे। चैत-वैशाखको गर्मीले धर्ती बाफिएझैं अचेल यो भेग पनि जातीय पहिचानको गर्मीले औधी बाफिएको छ।
‘हुन त हो। तर, त्यो सुरेन्द्रेले पोहोर गरेजस्तो घटिया काम पनि गर्नु हुँदैन,’ सुकलालले भने।
‘त्यल्ले त्यो दिन त्यति पिएको पनि थिएन। तर, के सुर चलेर हो, विस्नेकी स्वास्नीलाई समात्न गएछ, बज्याले !’ घनश्यामले केही बेर रोकिँदै भने, ‘विस्ने सौदीमा थियो र मात्र। यहीं भएको भए त्यल्लाई दुई ठुन्का पारिदिन्थ्यो। धन्न बँच्यो। गाम्लेहरूले नै कुरा मिलाए।’
‘हो भन्या,’ सही थपे, लेखनाथले।
‘ए, गिलास त रित्तिइ सकेछ...। थप्न मुला, के ट्वाल्ल परेर हेरिराख्या, भन्या,’ घनश्यामको छेउमै रहेको ग्यालिनतिर सङ्केत गर्दै सुकलालले भने र पेटभित्र गुम्सिरहेको ग्यास छाडे अचानक।
‘यो साले पनि जहाँ पायो त्यहीं...। घटिया नै छ भन्या। यल्ले हाम्रो जातको प्रतिनिधित्व गर्दैन,’ लेखनाथले थर्काए।
‘छाड, त्यस्ता जातभातको कुरा। यस्तो गर्नु स्वास्थेलाई राम्रो हो,’ सुकलालले भने।
‘जे जस्तो भए पनि सुरेन्द्रको समाजमा जुन इज्जत थियो, त्यो त माटोमै मिल्यो,’ लेखनाथले कुराकानीको टुटेको शृङ्खलालाई जोड्दै भने।
‘झन्नै महिना दिनसम्म त घरबाटै निस्केन, बाहिरफेर। समाजमा मुख देखाउन पनि कसरी सकोस्, बिचराले ?’ घनश्यामले सहानुभूतिको स्वर निकाले।
एकाध घन्टादेखि नै चुर्ने कामी पकाइ-तुल्याइमै व्यस्त छन्। घरभित्र बङ्गुर पाकिरहेछ, पोलपाल गर्ने काम पनि चलिरहेछ, अनवरत। घर बाहिर भने धुरीको प्वालबाट धुवाँको मुस्लो वायुमण्डलतिर प्रक्षेप भइरहेको छ। हाँसो-ठट्टा, ग्रामीण समस्या, जातीय पहिचान, बङ्गुरको चोक्टा, मादक पदार्थको सेवनसम्बन्धी चर्चा÷परिचर्चाले चुर्ने कामीको सानो झुप्रामा यथास्थान जमाइरहेको छ।
‘हाम्रा बाउ-बाजेले खान चाहिँ नजानेकै हुन्।’
‘किन र ?’
‘यस्तो मीठो बङ्गुरको मासु...,’ बङ्गुरको मझौला आकारको चोक्टा चपाउँदै लेखनाथले भने, ‘सँुगुर-बङ्गुर खाए जात जान्छ भन्थ्यो। खै, हाम्रो जात गयो त ? कहाँ गयो हाम्रो जात ? खोलामा गयो ? कि हाम्रो जातलाई लग्दाहले बगायो ? अहिले पनि हामीले आफ्नै थर लेखिरहेका छम्, भन्नेहरूले हामीलाई बाजे नै भन्छन्। बाजे भनेरै मानमनितो गर्छन्। खै, जात गएको ? उल्लु कुरा !’
‘फेरि कामी, दमैको घरमा पस्नु हुँदैन, उनेरुले छोएको खानु हुँदैन भन्थे। अहिले भने हामी...हाहाहा।’
‘सब वाहियात कुरा हो, यो।’
‘ट्वार्रर..।’
‘यो पाजी पनि...छ्या।’
‘रक्सी त झन् खाँदै नखानु भन्थे, छुँदै नछुनु भन्थे। सुँघ्नसमेत दिइँदैनथ्यो।’
‘यो जति पवित्र र मीठो चिज त अरू केही रहेनछ,’ घनश्यामले गिलास उठाउँदै भने, ‘अस्ति चीन र अम्रिकाको राष्ट्रपति भेट्दा पनि यही रक्सीको गिलास ठोक्काउँदै थिए। यो अन्तर्राष्ट्रिय सर्वत पानी हो क्या अन्तर्राष्ट्रिय। यसको साँध-सीमा, जाति, भेद, लिङ्ग केही छैन। साँच्चै, केही छैन।’
‘अँ, सर्कार र मदिसेबीच कुराकानी मिल्ने भो त ?’
‘ए, चुर्ने दाइ। थालमा सितन त सिनित्तै भएछ नि। एक-दुई डाडु खन्याऊ न भन्या, यार,’ सुकलालले बाँकी रहेको रक्सी आँखा चिम्लेर स्वाट्टै पारे र अगेंनामा मासु भुटिरहेका चुर्नेतिर हेर्दै भने, ‘चुर्ने दाइको घरमा दसैंको भाग आजै खान जुर्या रै’छ। मैले पहिला नै भन्या थेँ’ र। अबदेखि हामीलाई दसैंको भाग नछुटाउनुस् है।’
चुर्ने फिस्स हाँसे र भने, ‘तपैंहरू हामीकहाँ आएर यसरी खाँदा मलाई पनि जातीय कुरा मेटिँदै गएको हो कि जस्तो लाग्छ, हजुर। हजुरहरू त महान् हुनुहुन्छ। हामीले तपैंहरूलाई जदौ भन्नुमा नै मज्जा लाग्छ। तर, अझै पनि तपैंहरूको घरभित्र भने हामी छिर्न पाउँदैनौं। किन यस्तो भा’ होला हजुर ?’
‘चिन्ता नगर्नुस् न दाइ, त्यो पनि ढिलोचाँडो आउँछ। जातपात भनेको केही पनि होइन रहेछ भन्ने कुरा समाजमा स्थापित हुन्छ भन्या क्या ! हुन्छ। हतार नगर्नुस् न,’ घनश्यामले थपे, ‘जसरी तपैंले दसैंको भाग खुवाउन हामीलाई बोलाउनुभयो, यसरी नै त हो नि, जातीय विभेद मेटिने भनेको पनि। हैन र ?’
चुर्नेले बुझेझैं गरी टाउको हल्लाए।
‘आत्थु,’ लेखनाथ चिच्याए।
‘के भो ?’
‘यी रोंगटेले टोकेछ,’ लेखनाथले भने, ‘चुर्ने दाइले त घरमा रोंगटे पनि टन्नै पाल्नुभएको रहेछ।’
‘यो प्याङ्खरमा रोंगटे त हुन्छ नि हजुर। अन्नपात त्यति सारो हुँदैन,’ चुर्नेले विनित् भावमा भने।
एउटा ठुलो ग्यालिन, करिब सात-आठ किलो बङ्गुर सिध्याएर उनीहरू चुर्ने कामीको घरबाट ओरालो झरे। रात छिप्पिने क्रम यथावत थियो।
००
केही वर्षयता चुर्ने चकित छ। समाजले कोल्टे फेरेकोमा थकित-थकित पनि छ। समयले परिवर्तनको नयाँ-नयाँ धार बदलेकोमा उनी खुसीमात्र छैनन्, अत्यधिक खुसी छन्।
उनको घर सिरुबारी डाँडैमा छ। सम्पत्तिको नाममा एकाध डालो कोदो फल्ने सुर्का बारीहरू मात्र छन्। सिरुबारीको ठीक्क तल भने बाहुनहरूको ठुलो बस्ती छ। धान फल्ने खेत, ठुला र समथर बारीहरू सबै बाहुनहरूकै अधिनमा छन्। माथि डाँडामा हरितन्नम दलितहरूको वेदनाको थुङ्गा वर्षौंदेखि फुलिरहेको छ, तल भने उच्च जाति भनाउँदाहरूका खुसी र उल्लास गम्किरहेका छन्।
चुर्ने आफ्नै आरनमा व्यस्त छन्। आरनमा व्यस्त रहँदा-रहँदै उनले पुराना दिनहरू सम्झिए।...दसैंका दिनहरू। उनी यामानको धोक्रो बोकेर तल्तिर ओर्लिरहेका छन्। उनीसँगै भख्खर जुँगाको रेखी बसेको छोराले पनि पिछा गरिरहेका छन्। छोराले पनि बोकेका छन्, एउटा सानोतिनो झोला। आफ्नै शरीरले धान्ने खालको झोला।
‘हामी काँ जान लाग्या हौं, बाउ ?’
‘तँलाई किन सप्पै चाहियो र, मेरो पछिपछि हिँड् न,’ उनी छोरालाई हप्काउँछन्।
‘भन्नु न, काँ जान लाग्या हौं ?’
‘विष्टहरूकाँ।’
‘किन ?’
‘दसैंको भाग उठाउन नि, मुला। त्यति पनि भनिरहनु पर्छ र ?’ उनी छोरालाई हप्काएझैं गर्छन्। छोरा भने उनको अनुहारतिर क्वारक्वार्ती हेर्दै हाँस्छन्।
साँझपख धोक्रो र झोलाभरि अन्नपात, दसैंको सुकुटी, चिउरा लिएर बाउ-छोरा घर फर्किन्छन् र दलानमा सबै चिजहरू बिसाउँछन्। स्वास्नीले चाहिँ धोक्रो खोल्छिन्। धोक्रो उघ्रिएसँगै मन अमिलो पार्दै सोध्छिन्, ‘यत्ति हो त, च्युरा ?’
‘अँ, यत्ति नै हो।’
‘मासु पनि यति थोरै ?’
‘अँ, यत्ति नै हो।’
‘आ’ब त विष्टहरू पनि लोभी हुन थालेछन्। पहिला-पहिला त टन्नै दिन्थे। दिएका चिजहरू घरसम्म ल्याउनै मुस्किल पथ्र्यो। तर, अब भने त दसैंको भाग पनि घटाउन थालेछन्,’ स्वास्नी उद्दिग्न रुपमा पेश हुन्छिन्, ‘त्यत्रो बर्खभरि हतियार अर्जापी दियो, दसैंको भाग भने यति थोरै ?’
‘विष्टहरूले टन्न खान दिएर पनि यति दिएकै छन्। किन क्यार-क्यार गरिराख्या भन्या ?’ चुर्ने स्वास्नीलाई हप्काउँदै भन्छन्।
‘तिमेरु बाउ-छोराले पो उतै घिचेर आएका छौ।’
‘धेर थुतुनो नचला। आइमाई भएर मुखमुखै नलाग,’ चुर्ने आवेगको छेउछाउ पुग्छन्।
स्वास्नी चाहिँ घोसेमुन्टो लगाएर दलानभरि फिँजाइएका विष्टहरूले दिएका दसैंको भागस्वरूप रूपी अन्नपात, चिउरा र केही लाम्सा सुकुटीतिर ध्यानमग्न हुँदै हेरिरहन्छिन्।
अँध्यारोले सर्वत्र पाइला बिसाइसकेको छ।
००
पूर्ववर्ती दिनहरूमा, दसैँको भाग बटुलबाटुल पारेर हिउँदका केही दिनसम्म भोक टार्न चुर्ने, तल्तिरका अर्थात् विष्टहरूको घरदैलो चहार्थे।
अचेल भने तल्तिर अर्थात् विष्टहरूका सुपुत्र-पात्रहरू दसैंको भाग खोज्दै मास्तिर उक्लिन थालेका छन्। र, विष्टहरूका निम्ति हजारौं वर्षदेखि वर्जित, छिःछिः र दूर्दर ठानिएका र जातीय छेडछाडको प्रतीक खान्कीहरूप्रति मोह पलाउन थालेको छ।
हिजो तल-तल झर्थे, दलितहरू।
आज, माथि उक्लिन थालेका छन्, विष्टहरू।
अब बिस्तारै तल, माथि हुन थालेको छ र माथिचाहिँ तल हुन थालेको छ।
समाज बदलिएको छ।
घाम भने सधैँझैं स्वतन्त्रतापूर्वक आकाशमा डुलिरहेछ।
(कथाकार वस्तीको नवीन कथाकृति ‘देउदत्त र रानी मुखर्जीहरू’ भित्रको एउटा कथा। यो कथाकृति भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित भएको हो।)